विराटनगर, मङ्सिर १५ ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले वर्तमान गठबन्धनले नै सरकार बनाउने बताउनुभएको छ ।
विराटनगरस्थित कोइराला निवासमा बिहीबार बिहान पत्रकार सम्मेलन आयोजना गरी नेता कोइरालाले गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहित केही दललाई मिलाएर नयाँ सरकार बन्ने जानकारी दिनुभएको हो ।
‘नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनका सबै साझेदार दलहरू सँगसँगै रहेर नयाँ सरकार गठन हुन्छ,’ नेता कोइरालाले भन्नुभयो ‘चुनावको अन्तिम परिणाम आइसकेपछि कसरी सरकार बनाउने भन्ने विषयमा छलफल हुन्छ ।’
निर्वाचनबाट केही नयाँ पार्टीहरू अस्तित्वमा आएको भए पनि उनीहरूको वैचारिक रुझान प्रस्ट नभइसकेकाले उनीहरूलाई गठबन्धनमा आबद्ध गर्ने विषयमा केही समय पर्खनुपर्ने नेता कोइरालाले बताउनुभयो ।
‘नयाँ दलभित्र कसैले सेन्ट्रल टु राइट र केहीले सेन्ट्रल टु लेफ्ट भनेको विषय सार्वजनिक भएको छ,’ उहाँले भन्नुभयो ‘यो विषय प्रस्ट भएपछि कसरी जाने भन्ने कुरा होला ।’ उहाँले सात वटा राष्ट्रिय पार्टी भएको र थप एउटा पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावनाको निकट रहेकाले अन्तिम परिणाम आएपछि सरकार गठनको विषयले मूर्तरूप लिने बताउनुभयो ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएका कोइरालाले भावी प्रधानमन्त्रीको बारेमा भने मुख खोल्नुभएन । ‘प्रधानमन्त्री हुने कुरा कसैले चाहना गरेर मात्र हुँदैन, त्यसका लागि पहिले दलको नेता बन्नुपर्छ, नेता बन्नका लागि नम्बरको गेम हुन्छ,’ जसले नम्बर पुर्याउँछ उही दलको नेता हुने र प्रधानमन्त्री हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ’ नेता कोइरालाले भन्नुभयो ‘अहिलेसम्मको परिणामलाई हेर्दा नम्बर सभापतिकै पक्षमा देखिन्छ, यी सबै कुरालाई हेरेर हामी एउटा निर्णयमा पुग्छौँ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)