स्याङ्जा,मंसिर १४ ।
निर्वाचन सकिएको १० दिनपछि स्याङ्जाको २ नम्बर निर्वाचन क्षेत्रको मतगणना हुने भएको छ । २ नम्बर क्षेत्रमा मतगणनाको विषयलाई लिएर विवाद भएसँगै रोकिएको मतगणना निर्वाचन आयोगको निर्णयसँगै बुधवार राति ९ बजेदेखि गणना हुने भएको हो ।
मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । सर्वदलीय बैठकले मतगणनाका विषयमा छलफल जारी राखे पनि राति ९ बजेदेखि शुरू गर्ने सहमति भइसकेको उनले बताए ।
निर्वाचन आयोगले स्याङ्जा २ को मतगणना शुरू गर्न निर्देशन दिएसँगै मतगणनाका लागि प्रक्रिया थालिएको हो । दिउँसो ४ बजेदेखि सर्वदलीय बैठक जारी रहेको छ ।
मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन । चापाकोट नगरपालिकाका ३, ४ र ५ नम्बरका ४ वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो ।
कांग्रेसले भने जनताको अभिमतको सम्मान गर्दै छिटोभन्दा छिटो मतगणना गर्नुपर्ने अडान राख्दै आएको थियो । दुवै दलले आआफ्ना माग पूरा गर्न माग गर्दै वालिङमा विगत १० दिनदेखि निरन्तर धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।
यसबीचमा निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमा ३ सदस्यीय टोली स्थलगत अध्ययन अवलोकनका लागि पठाएको थियो । २ नम्बर क्षेत्रमा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमाले केन्द्रीय सचिव पदमाकुमारी अर्याल मुख्य प्रतिस्पर्धामा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)