Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको जीत, प्रदेशमा लामा र माओवादीका ढकाल विजयी

चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको जीत, प्रदेशमा लामा र माओवादीका ढकाल विजयी

  • 2.0K
    SHARES

  • चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको जीत, प्रदेशमा लामा र माओवादीका ढकाल विजयी

    चितवन,मंसिर ११ ।

    प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे  विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका नेता डा. भोजराज अधिकारीलाई ९ हजार २३३ मतले पछि पार्दै राप्रपाका नेता पाण्डे विजयी भएका हुन्।

    पाँच दलीय गठबन्धन र नेकपा एमालेसहितका दलहरूबीचको सकसपूर्ण यात्रामा पनि पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले सहज जीत निकालेका हुन्।

    नेता पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दै संसदीय यात्रा तय गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार डा अधिकारीले जम्मा २५ हजार ८२२ मतमात्रै प्राप्त गरेका थिए।

    तेस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ जीता बरालले १४ हजार ८४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता दिनेश कोइरालाले जम्मा १२ हजार २७५ मत प्राप्त गरेका थिए। निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार चितवन क्षेत्र नं ३ मा कुल ९४ हजार २८० मत खसेको थियो।

    विजयी भइसकेपछि नेता पाण्डेले चितवन क्षेत्र नं३ मा अबको पाँच वर्ष विकासको लहर आउने बताएका छन्। चितवन ३ का मतदातालाई धन्यवाद दिँदै नेता पाण्डेले पाँच वर्षको लागि सही नेतृत्व चुनेको हुँदा कुनै पनि मतदाताले पछुताउनु नपर्ने बताए।

    यसअघि दुई पटकसम्म मन्त्रालय सम्हाल्दाको अनुभवसमेत लिइसकेको हुँदा त्यसपछि आफूले गर्नुपर्ने बाँकी काम सबै सम्पन्न गरेर पश्चिम चितवन र माडी क्षेत्रलाई विकसित र हराभरा क्षेत्र बनाएर छाड्ने उनले बताए।

    यसैबीच चितवन क्षेत्र नं३ को प्रदेश १ मा पनि राप्रपाकै बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङ ज्ञानुजंग लामा बिजयी भएका छन्। कुल खसेको मतमध्ये नेता तामाङले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता प्राडा सूर्यकान्त घिमिरेलाई दुई हजार ८५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

    नेता तामाङले १७ हजार ८१३ मत पाउँदा कांग्रेसका नेता प्राडा घिमिरेले जम्मा १४ हजार ९५६ मात्रै प्राप्त गरेका थिए। यस्तै नेकपा ९एमाले०का कृष्णप्रसाद भुर्तेलले भने जम्मा ११ हजार ६२३ मतमात्रै प्राप्त गरे।

    प्रदेश २ मा भने पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता ठाकुरप्रसाद ढकाल विजयी भएका छन्। राप्रपाकी सह–महामन्त्री एवम् बागमती प्रदेशकी पूर्वसांसद रीना गुरूङलाई ८४६ मतले पछि पार्दै माडी नगरपालिकाका पूर्वमेयरसमेत रहेका नेता ढकाल विजयी भएका हुन्।

    ढकालले १५ हजार ४६१ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी गुरूङले १४ हजार ६१५ मत प्राप्त गरेकी थिइन्। तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी नेतृ सरस्वती विष्टले भने जम्मा १० हजार १२४ मत प्राप्त गरेकी थिइन्। 

    चितवन क्षेत्र नं ३ मा विजयी भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डे र क्षेत्र नं ३ को प्रदेश नं१ मा विजयी भएका राप्रपाका बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङको उपस्थितिमा भरतपुरको केन्द्रीय बस टर्मिनलबाट निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुग्ने गरी विजय र्‍याली निकाल्न लागेको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology