दाङ,मङसिर ४ ।
दाङमा आईतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लामा सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए । जिल्लाभरका ४ सय ६५ वटै मतदान केन्द्रमा ६० प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ ।
दाङमा निर्वाचन क्षेत्र नम्बर १ मा कुल ५१ वटा मतदान स्थलमा १ सय ५२ वटा मतदान केन्द्र रहेकोमा १२ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा छन् । जसका लागि १ लाख ३४ हजार ७ सय २८ मतदाता रहेका थिए ।
यस्तै, क्षेत्र नम्बर २ मा ४८ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्र निर्धारण गरिएकोमा १५ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा छन् । जसका लागि १ लाख ३३ हजार ७ सय ४८ मतदाता थिए ।
क्षेत्र नम्बर ३ मा ५४ वटा मतदान स्थलमा १ सय ६७ मतदान केन्द्र निर्धारण गरिएको थियो । जहाँ १५ जना संघीय उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । जसका लागि १ लाख ४६ हजार ४ सय ७५ जना मतदाता थिए ।
दाङमा ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेकोमा ३ लाख ५० हजार मतदाताले मतदान गरेको हुन सक्ने अनुमान गरिएको छ । यसको यकिन विवरण आउन अझै केही समय लाग्ने बताईएको छ ।
दाङको १ सय ५३ वटै मतदान स्थलमा रहेका ४ सय ६५ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)