बुटवल,मंसिर ४ ।
आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ ।मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् ।
मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् ।चुनावका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् ।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् । निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले अपिल गरेको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)