बुटवल,मङसिर ३ ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रूपन्देहीमा मतदानको तयारी पूरा भएको छ । रूपन्देहीबाट झन्डै साढे ६ लाख जना मतदानमा सहभागी हुदैछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर २ सय ८ मतदान स्थल छन । ती मतदान स्थलमा ७ सय २ केन्द्र तोकिएका छन् । ती केन्द्रहरुमा आवश्यक सबै तयारी पूरा भएको छ ।
रुपन्देहीमा ५ वटा अस्थायी मतदान केन्द्र छन । कार्यालयका अनुसार रूपन्देही–१ मा प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा १ मा ११ र २ मा १४ जना उम्मेदवार छन् । रूपन्देही–२ मा प्रतिनिधिसभातर्फ १५, प्रदेशसभा १ मा १२ र २ मा ११ जना उम्मेदवार छन् । त्यस्तै रूपन्देही–३ मा प्रतिनिधिसभातर्फ २२, प्रदेशसभा १ मा ११ र २ मा ११ जना उम्मेदवार छन् । रूपन्देही–४ मा प्रतिनिधिसभातर्फ १३, प्रदेशसभा १ मा ६ र २ मा १२ जना उम्मेदवार छन् ।







रूपन्देही ५ प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा १ मा १३ र २ मा १४ जना उम्मेदवार छन् ।रूपन्देहीका निर्वाचन कार्यालय प्रमुख अयोध्याप्रसाद भण्डारीले जिल्लाका सबै मतदान केन्द्रमा खटिने कर्मचारीले मंसिर १ मा नै निर्वाचन सामग्री बुझी सुरक्षाकर्मी सहित सम्बन्धित केन्द्रमा रहेको बताउनुभयो । सबै मतदान केन्द्र र स्थल सुरक्षित रहेको उहाको भनाई छ ।
जिल्लाका हरेक मतदान केन्द्र र स्थलमा सुरक्षाकर्मी खटाइसकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । १२ वटा अनुगमन टोलीले हरेक निर्वाचन क्षेत्रको अनुगमन गर्ने र निर्वाचन अवधिभरिका लागि सीमासमेत सिल गरिएको उहाले बताउनुभयो । शनिबार रुपन्देहीका सबैजसो मतदान स्थलको अनुगमन गरिएको उहाँको भनाइ छ । निर्वाचनलाई लक्षित गर्दै जिल्लामा तीन हजार ९५ म्यादी र एक हजार सात सय ३६ नेपाल प्रहरी खटिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)