बुटवल,मंसिर १ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. २ चर्चामा छ । सत्तापक्ष गठबन्धनका उम्मेदवार राजु गुरुङ्को उम्मेदवारी खारेज भएपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई टक्कर दिन गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेसँगै फेरि क्षेत्र नं. २ चर्चामा छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्तादेखि खारेजीको विषयले रुपन्देहीको क्षेत्र नं. २ ले चर्चा पायो । ५ दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजबादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी भएपछि गठबन्धन उम्मेदवार बिहिन बन्न पुग्यो ।
उम्मेदवार बिहिन बन्न पुगेको गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष तथा उम्मेदवार केशवबहादुर थापा सूर्यवंशी लाई समर्थन गरेसँगै प्रचारप्रसार तिब्र पारेको छ । अहिले ६ दलीय गठबन्धन बनेको छ । प्रचारप्रसार कार्यालयको स्थापना गर्दै गठबन्धनले प्रचारप्रसारलाई जोड दिएको छ । दलहरु आज अन्तिम चुनावी कसरतमा रहेको संयुक्त प्रचार प्रसार समिति संंयोजक पर्सुराम ढकालले बताउनुभयो ।
गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । बुटवल उपमहानगर , सैनामैनाका र तिलोत्तमा गरी २३ वटा वडा पर्ने यो क्षेत्रमा १ लाख २८ हजार ६७७ मतदाता छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा वडाअध्यक्षहरुले पाएको मत अनुसार यहाँ कांग्रेस अगाडि देखिन्छ । स्थानीय तहको निर्वाचनअनुसार यहाँ नेपाली कांग्रेसले ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, एकीकृत समाजवादीको १ हजार ३८२ र जसपाको १८३ मत छ ।अहिले यहाँ राप्रपा र जसपाले एमालेका विष्णु पौडेललाई समर्थन गरेको छ । यसरी राप्रपा, एमाले र जसपाको मत जोड्दा ३७ हजार २९० मत हुन्छ ।

अर्कोतिर सत्ता गठबन्धनको मत ३९ हजार ५२९ देखिन्छ । यस आधारमा राष्ट्रिय जनमुक्ति पार्टीको मत बिना नै सत्तारुढ गठबन्धन दुई हजारभन्दा बढी मतले अगाडि देखिन्छ ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका केही सीमित वडामा मात्र राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दिदा दुई हजार ७० मत पाएको थियो । यो मतसमेत जोड्ने हो भने सत्तारुढ गठबन्धन एमालेका उम्मेदवारको तुलनामा निकै बलियो देखिन्छ । यही मतलाई हेरेर गठबन्धनले आफ्नो जित सुनिश्चित भएको दाबी केशवबहादुर थापा सूर्यवंशीको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय चुनावको अङ्कगणितले खासै प्रभाव नपार्ने एमालेको दाबी छ । २०७४ सालमा एमालेका विष्णु पौडेलले ४४हजार ९ मत ल्याउँदा नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४५ मत ल्याउनु भएको थियो ।
तर त्यतिबेला एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धने थियो । सत्ता पक्षिय गठबन्धनले जनमुक्तिलाई समर्थन गरेपछि राप्रपा र जसपाको साथ पाउनु भएका एमाले उपाध्यक्ष पौडेल पनि मतदातालाई आफ्नो पक्षमा पार्नको लागि कार्यकर्ता भेटघाटदेखि प्रचारप्रसार कार्यालय उद्घाटनमा ब्यस्त देखिनुहुन्छ । चुनावमा प्रतिस्प्रर्धा नहुने एमाले उपाध्यक्ष पौडेलको दाबि छ ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरमा जनमुक्तिले नेकपा एमालेलाई समर्थन गरेको थियो । अहिले सत्ता गठबन्धनको साथ पाएको जनमुक्तिका उम्मेदवारको अब कस्तो नतिजा आउँछ यो भने मंसिर ४ सम्म कुर्नुपर्नेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)