बुटवल, कात्तिक २८-
नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक शुरु भएको छ ।
पार्टी मुख्यालय सानेपामा शुरु भएको बैठकमा काँग्रेसले देशभरका क्रियाशिल सदस्यहरुको पछिल्लो विवरण केन्द्रमा पठाउने विषयमा छलफल गर्ने जनाइएको छ ।
यसैगरी, पार्टीका समानुपातिक तर्फबाट निर्वाचित हुनु भएका संघीय सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त भएको ठाउँमा पठाउने नामको पनि काँग्रेसले आजै टुंगो लगाउने तयारी गरेको छ ।
केहि महिना अघि मात्र नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका राप्रपा नेता सुनिल थापासँगै पार्टीमा प्रवेश गरेका सदस्यहरुको जिम्मेवारी र साँगोपाँगो एकताको विषयमा पनि आजको बैठकमा छलफल हुने जानकारी नेपाली काँग्रेस पार्टी सचिवालयले दिएको छ ।
क्रियाशिल सदस्यता र पछिल्लो पटक सभापति शेरबहादुर देउवाले पार्टीको विभाग गठन गरेको विषयलाई लिएर नेपाली काँग्रेसभित्र पनि विवाद कायमै छ ।
यस विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाको कार्यशैलीको विरोध समेत गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)