बुटवल,कार्तिक २६ ।
देवदहमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग अन्तरगत शनिबार भएको खेलमा तिलोत्तमा टाईटन विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा भएको खेलमा तिलोत्तमाले बुटवल युनाईटेडलाई ९५ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले पुरै ओभरमा ९ बिकेटको नोक्सानीमा २ सय १० रनको लक्ष्य खडा गरेको थियो । तिलोत्तमाका लक्ष्मण कुमालले ४१, सन्दिप यादवले ३७ र अंकित बिएमले ३४ रन जोडेका थिए ।
बुटवलका सचिन अर्यालले ३ तथा हरिकेश मोरियाले १ बिकेट लिएका थिए । बिशाल रन पछ्याएको बुटवलका ब्याट्सम्यानहरु २६.१ ओभरमा सबै बिकेट गुमाएर १ सय १५ रनमा समेटिए ।
उसका लागि हरिकेशले ३० तथा सन्दिप ढकालले २६ रनबाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन । बुटवलका बिपर्सन केसीले ५ तथा लक्ष्मण कुमालले २ बिकेट लिए । खेलमा बुटवलका बिपर्सन केसी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको गौचनले बताए । स्थानिय पालिकाहरुबाट यु १९ उमेर समुहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल भैरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)