बुटवल,कार्तिक १९।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गरेको छ ।
गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार खाण र प्रदेश सभा ३ एकका उम्मेदवार सन्तोष कुमार पाण्डेलाई समर्थन गर्दै उक्त गाउँ नेपाली कांग्रेसका प्रवेश गरेको कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।
मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँबाट शनिबार आयोजित कार्यक्रममा १५१ जना पार्टी प्रवेश गर्दै नेपाली कांग्रेसको सदस्यता समेत लिएका छन् । प्रवेश गर्नेहरूमा एमालेबाट निर्वाचित पूर्व वडा सदस्य अस्गर अलि फकिरलगायत रहेका छन् । उहाँले नेता खाण रुपन्देहीको मात्र नभई सिङ्गो मुलुकको नेता तथा यस क्षेत्रको अभिभावक समेत भएकाले गाउँले उहाँको पक्षमा समर्थन जनाएको जानकारी दिनुभयो ।
उनीहरूलाई पार्टी सदस्यता गर्दै गृहमन्त्री खाणले देश विकास सुशासनको अभियानमा लागेको गठबन्धनलाई विजयी गराउन जुट्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले कांग्रेस सबैको पार्टी र सबै अट्ने पार्टी भएको स्मरण गराउँदै आगामी दिनमा वर्तमान बेवास्ता बचाउँदै जनताको अवस्था बदल्ने अभियानमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताउनुुभएको छ ।
रुपन्देही –३, बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुुभएका मन्त्री खाणले माओवादीले निर्वाचन परिचालनका लागि आयोजना गरेको कार्यकता भेलामा शनिबार सो कुरा बताउनुभएको हो । सात प्रदेश र संघमा गठबन्धनले बहुमत ल्याउने उहाँको भनाइ छ ।
लामो संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यबस्थालाई थप मजबुत बनाउदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको जित आवश्यक रहेको उहाँले बताउनुभयो । ‘यस निर्वाचनमा मैले चुनाव जित्छु कि हार्छु भन्दा पनि पाँच दलीय गठबन्धनका शीर्ष नेताले जित्नुपर्छ उहाँले भन्नुभयो, “कांग्रेससहितका पाँच दलीय गठबन्धन सत्तामा पुगेर प्रधानमन्त्री, मन्त्री बन्नका लागि मात्र होइन, देशको भविष्य उज्यालो बनाउनका लागि हो ।”
शीर्ष नेताहरु कोही पनि निर्बाचनमा पराजित हुन नहुने उहाँले बताउनुभयो । आवश्यकता परेमा नेताहरुलाई जिताउन आफू आफ्नो चुनावी अभियान बीचमैं छाडेर निर्बाचन क्षेत्रमा चुनावी मोर्चा बनाउन जान तयार रहेको खाणले बताउनुुभयो ।
कांग्रेस र बामपन्थी शक्ति मिलेर नेपालमा ठूला राजनीतिक परिवर्तन भएको चर्चा गर्दै २०४६ मा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन भएको र जनआन्दोलन भाग दुई पनि मिलेरै सफलता प्राप्त भएको उहाँले चर्चा गर्नुभयो ।
‘नेपालको सामाजिक, आर्थिक, शैक्षिक सवै क्षेत्रमा आमुल परिवर्तन गरी नेपाललाई विकसित मुलुकको रुपमा रुपान्तरण गर्नु छ’ उहाँले भन्नुुभयो, ‘यसका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको हो ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)