भैरहवा, १९ कात्तिक ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका (बोर्डर) बन्द हुने भएको छ । नेपाल भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बोर्डर बन्द (शिल) गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । बैठकमा भएका सहमति कार्यान्वयन गर्न दुवै पक्ष सहमत हुने र सुरक्षाको भरपर्दो व्यवस्था गर्ने निर्णय भएको पाण्डेले जानकारी दिए ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक आयोजना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।
बैठकमा सीमावर्ती क्षेत्रमा दुवै पक्षवाट कानूनको परिपालना गराउने, सबै प्रकारका गैरकानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने तथा (मंसिर १ गते राती १२ बजे मंसिर ४ गते राती १२ बजेसम्म दुवै पक्षबाट बोर्डर बन्द गर्ने विषयमा सहमति भएको अर्यालले जानकारी दिए ।
उनले भने, ‘सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने जाली नोट नियन्त्रण लगायतका साझा सवालहरुका विषयमा निर्णय भएको छ । उक्त निर्णय दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।’
शनिबार रुपन्देहीको सियारी गाउँपालिकास्थित छपियामा भएको बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिस्ट्रेसहित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)