बुटवल,कात्तिक २६ ।
देशभर चिसो बढ्दै गएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको दिउँसोको तापक्रम २४ देखि २६ डिग्रीसम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
मंगलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ८ डिग्री सेल्सियसमा झरेको थियो ।
सामान्यतया राति आकाश खुला हुँदा बिहान तापक्रम घट्ने गर्छ । अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नहुँदा देशभरको मौसम सामान्यतया सफा हुँदा विस्तारै चिसो बढ्दै गएको महाशाखाले जनाएको छ । बिहान ९ बजेसम्म तापक्रम घट्नेक्रममै रहनेछ ।
बुधबार पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने मौसमविद्ले बताएका छन् । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार पहाडी क्षेत्रको मौसम घाम लाग्दै बादल लागे पनि पानी भने कतै पनि पर्दैन। अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । अबको तीन दिन पहाडी क्षेत्रको मौसम आशिंक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)