बुटवल, कात्तिक १४ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ।
भैरहवामा रहेको विमानस्थललाई चलायमान बनाउन यस्ताे निर्णय भएको हाे। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन्।
गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ।
प्राधिकरणले आइतबारदेखि लागू गरेका हिउँदे उडान तालिका अनुसार चार्टर उडानसँगै काठमाडौँबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन्। प्राधिरकणले विदेशबाट आउने चार्टर उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकेको थियो। गौतमबुद्ध विमानस्थलले सञ्चालन खर्चसमेत उठाउन नसकेपछि प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदेउडान तालिकाअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ।

आइतबारदेखि लागू भएको तालिकाअनुसार अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपाल वायुसेवा निगमले आइतबार पुरानै बर्खे उडान तालिका अनुसार उडानको तयारी गर्दा दिल्ली उडान रोकिएको छ। नयाँ तालिकाअनुसार निगमको दिल्ली उडान रोकिएपछि नेपालबाट दिल्ली जाने २५४ जना र दिल्लीबाट नेपाल आउने १९३ जना यात्रु अलपत्र परेका छन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार १० दिनअघि नै निगम र हिमालय एयरलाइन्सलाई हिउँदे तालिकाअनुसार प्रति तीन उडान गर्दा एउटा उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो। तर निगमले पालना गर्नुपर्ने दिल्ली उडानको अनुमति नलिएपछि उडान रोकिएको हो। उहाँले भन्नुभयो, “निगम र हिमालय दुवैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न लिएको तालिकामा तीनवटा बराबरको एक उडान भैरहवा सारिएको छ। प्राधिकरणसँग उडान अनुमति नै नलिई यात्रुलाई बोर्डिङ गराएपछि उडान रोकिएको हो।”
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन्।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)