बुटवल,कार्तिक ४ ।
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ । गुरुङले खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो ।
कानूनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन, सर्वोच्चको आदेशमा भनिएको हो ।
उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध गुरुङ सर्वोच्च गएका थिए । यसअघि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
बैंकिङ कसूरमा कालोसूचीमा नाम रहेको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते गुरुङको उम्मेदवारी खारेजी गरिदिएको थियो ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)