Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चर्को व्याजदरविरुद्ध रुपन्देही व्यापार सङ्घद्वारा राष्ट्र बैंकलाई ज्ञापनपत्र

चर्को व्याजदरविरुद्ध रुपन्देही व्यापार सङ्घद्वारा राष्ट्र बैंकलाई ज्ञापनपत्र

  • 1.8K
    SHARES

  • चर्को व्याजदरविरुद्ध रुपन्देही व्यापार सङ्घद्वारा राष्ट्र बैंकलाई ज्ञापनपत्र

    बुटवल,कार्तिक ४ ।
    रुपन्देही व्यापार सङ्घले राष्ट्र बैङ्कले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट व्यापार व्यवसायमा परेको असर एव ब्याजदरमा गरेको वृद्धिको विरोधमा ध्यानाकर्षणपत्र बुझाएको छ ।  

    सङ्घले पहिलो चरणको आन्दोलन अन्तर्गत बिहीबार नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैङ्कका गभर्नरलाई ज्ञापनपत्र बुझाएको हो । सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेसहितको टोलीले राष्ट्र बैङ्क सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ । 

    ज्ञापनपत्र हस्तान्तरण गर्दै सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेले राष्ट्र बैङ्कको गलत नीतिका कारण बैङ्कहरूले ब्याजदर बढाएर व्यापार व्यवसाय चलाउन नसकिने परिस्थितिको सिर्जना भएको बताउनुभयो ।  

    पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैङ्क वित्तीय संस्थाबाट विनाकारण व्याज वृद्धि गर्दा व्यवसाय सञ्चालनमा गम्भीर असर परेको भन्दै उहाँले यसलाई नसच्याएमा व्यावसायीहरु पेसाबाट पलायन हुने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । 

    बैङ्क वित्तीय संस्थाबाट लिएका ऋणको व्याज अस्वाभाविक रूपमा वृद्धि गरिनुका साथै त्यसमा कसैको निगरानी नहुनु ज्यादै दुःखद पक्ष रहेको स्मरण गराउँदै त्यसमा राष्ट्र बैङ्कले ध्यान दिन र व्याज दर घटाउन आग्रह गर्नुभयो । 

    आकासिँदो ब्याजदर नियन्त्रणका लागि हाल विद्यमान स्प्रेड दर १ प्रतिशतमा घटाउनु पर्ने, बैङ्कको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरिनु पर्ने, नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैंकलाई प्रवाह गर्ने ऋण ५ प्रतिशत नै कायम गरिनु पर्ने, तरलताको समुचित व्यवस्थापन गर्न पुँजीगत खर्च समयमै गर्नुपर्ने सङ्घका महासचिव दयानिधि भण्डारीले बताउनुभयो । 

    यस्तै, ज्ञापनपत्र ग्रहण गर्दै राष्ट्र बैङ्क सिद्धार्थनगर शाखाका निर्देशक पौडेलले सङ्घले प्रस्तुत गरेको विषयवस्तुलाई सकारात्मक रूपमा आफूले लिएको बताउनुभयो । व्यावसायीहरुको मागलाई आफूले इमानदारिताका साथ सम्बन्धित निकायमा लग्ने प्रतिबद्धता जनाउनुभयो । 

    कात्तिक ४ गते शुक्रबार सबै व्यापारिक प्रतिष्ठानहरूमा विरोधको साङ्केतिक स्वरूप कालो पट्टी बाँधेर आफ्नो व्यवसाय सञ्चालन गर्ने कार्यक्रम रहेको सङ्घका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology