बुटवल,कार्तिक २।
रुपन्देहीका उद्योगी व्यवसायीका अगुवाहरुले बैंकको व्याजदर घटाउन सरकारसंग माग गरेका छन्।एक बर्ष अघि सम्म आठ प्रतिशतमा रहेकको ऋणको व्याज अहिले १६ प्रतिशत भएकाले तत्काल घटाउनु पर्ने उद्योगी व्यवसायीको माग छ।
रुपन्देही उद्योग संघको सोमबार सम्पन्न ४४ औं वार्षिक साधारण सभामा बोल्ने उद्योगी व्यवसायीका अगुवाहरुले सरकारले चर्को व्याजदर नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए।
सरकारले नीजि क्षेत्र तथा उद्योगी व्यवसायीका समस्या बुझ्न नसकेको बताउदै उनीहरुले जिम्मेवारी पुरा गर्न नसकेकाले देशको अर्थतन्त्र कमजोर भएको बताए।
उनीहरुले सरकारको गैरजिम्मेवार व्यवहार र बैंकहरुकोे चर्को व्याज तिरेर उद्योगहरु जोगाउन नसकिने अवस्था आएको बताए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले नीजि क्षेत्र सफल भए मात्र देशको अर्थतन्त्र बलियो हुने दावी गरे।
उनले अर्थतन्त्रको मेरदण्डको रुपमा रहेको नीजि क्षेत्रलाई सरकार र राजनीतिक दलले बुझ्न नसकेकाले आज नेपालको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको बताए।
नेपाल राष्ट्र बैंकको कार्यविधि नीजि क्षेत्रका लागि बाधक छ, दैनिक रुपमा बढेको चर्को व्याज तिरेर उद्योगहरु धान्न सक्ने अवस्था छैन, यस्तै अवस्था रहे बैंकका विरुद्व विद्रोह गर्ने आउन सक्छ अधिकारीले चेतावनी दिए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योगी व्यवसायीका समस्या राज्यतहबाट समाधान गरिनुपर्ने बताउदै स्थानीय सरकार उद्योगीमैत्री बन्ने बताए।
रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले उद्योगीहरुले उद्योगहरु बचाउन चाहेपनि बैंकको चर्को व्याजले उद्योगहरु बचाउन नसकिने अवस्था सिर्जना भएको बताए। आलमले व्याज बढाइरहने बैंकहरुलाई नेपाल राष्ट्र बैंकले संरक्षण गरेको बताउंदै बैंकहरुका बिरुद्व आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, लुम्बिनी प्रदेशका अर्थ सचिव नेत्रप्रसाद सुवेदी, नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय भैरहवाका निर्देशक रञ्जना पौडेल, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण शर्मा, नेपाल चेम्बर अफ कर्मश लुम्बिनीका संयोजक टंक पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, गणेश अधिकारी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल लगायतले आआफ्ना भनाइ राखेका थिए।
संघका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षता र महासचिव हरिबहादुर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)