बुटवल,कार्तिक २।
रुपन्देहीका उद्योग वाणिज्य संघहरुले बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदर घटाउन माग गरेका छन् । उनीहरुले असोज मसान्तसम्ममा तिर्नुपर्ने किस्ता तथा ब्याज बुझाउने समयावधी थप गर्न माग गरेका छन् ।
साथै, उनीहरुले ब्याजदर वृद्धिको विरोधमा प्रदर्शन समेत गरेका छन् । रुपन्देहीमा रहेका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ र सैनामैना उद्योग वाणिज्य संघले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
कोभिड–१९ महामारीसँगै कर्जामा तरलता अभावले मार खेपिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत दिनुको साटो चर्को व्याजदर थोपरेर बैंक तथा वित्तीय संस्थाहरुले ज्यादती गरेको भन्दै एकल विन्दुमा व्याजदर कायम गर्न माग गरेका हुन् । बढ्दो ब्याजदरका कारण उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएकोले एकल विन्दुमा ब्याजदर कायम गर्नुपर्ने, उद्योगी व्यवसायीहरुले असोज मसान्तसम्ममा बुझाउनुपर्ने किस्ता तथा ब्याज बुझाउने समयावधी थप गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले लिने प्रिमियम दर १५ भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको ब्याजदर कम्तीमा १ वर्षसम्म ऋणीको सहमतिविना बढाउन नपाइने, चालु पुँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएकोछ ।
उद्योगी व्यवसायीहरुले थेग्नै नसक्ने गरी भएको ब्याजदरको वृद्धिलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकलाई पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुको बिनम्रतालाई गम्भीरतापूर्वक लिन पनि आग्रह गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)