बुटवल,कार्तिक १ ।
रुपन्देहीका राजनीतिक दलपनि निर्वाचन आचारसंहिता पालनामा सचेत देखिएका छन् । निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने रूपन्देहीका सातदलले सामुहिक प्रतिबद्धता जनाएका हुन् ।
संघ र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचन आयोगगे जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता रुपन्देहीमा क्रियाशिल राजनीतिक दलहरुले जनाउंदै हस्ताक्षर समेत गरेका छन् ।
चाँदनी नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा रुपन्देहीमा क्रियाशिल सात राजनीतिक दलले ७ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै आचारसंहिता पूर्ण पालना गर्ने प्रतिवद्धता जनाए ।
नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी, लोसपाका लुम्बिनी प्रदेश प्रवक्ता मोहम्मद इश्लाम, जसपाका लुम्बिनी प्रदेश सहइन्चार्ज नविन सुनार, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम बिक र राप्रपाका केन्द्रीय सदस्य तायनाथ लम्सालले ७ बुँदे साझा प्रतिवद्धतामा हस्ताक्षर गर्नुभयो ।चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेले आचारसंहिता पालनामा प्रतिवद्ध गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
दलहरुले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन आफूहरु प्रतिवद्ध रहेको बताउनुभएको छ ।मतदाताले आफूले रोजेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्ने हकको संरक्षण र सुनिपिश्चतताप्रति संवेदनशील रहेको भन्दै दलहरुले भनेका छन्–“दल र उम्मेदवारको घोषणापत्र र एजेण्डाका आधारमा स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने सहज वातावरण तयार गरिने छ ।”
दलहरुले आफ्ना विचार मतदातासमक्ष खुल्लारुपमा राख्ने र एक अर्काप्रति सम्मानजनक व्यवहार गरिने भन्दै आपसमा आरोप प्रत्यारोप तथा मान, प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्ने प्रतिवद्धता जनाएका हुन् । निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाहरुलाई सहभागी नगराउने पनि उनीहरुको प्रतिवद्धता छ । भ्रमपूर्ण सूचना प्रवाहलाई निरुत्साहित गरिने पनि दलहरुले बताएका छन् ।
एक दलले अर्को दलको कार्यक्रम नबिथोल्ने वा अवरोध नपु¥याउने प्रतिवद्धता जनाउँदै दलहरुले निर्वाचन आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृतहरु, मतदान अधिकृतहरु र पर्यवेक्षण गर्ने निकायसँग समन्वय र सहयोगी भूमिका निर्वाह गर्ने जनाएका छन् ।कांग्रेस रुपन्देही सभापति रामकृष्ण खांणले आचारसंहिता पालनामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । गठबन्धन दलहरु प्रतिबद्ध रहेको उहांको भनाइ छ । नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष नै बढि देखिने गरेको भन्दै आफ्नो दल र सहकार्यमा रहेका दल प्रतिबद्ध रहेको बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले सबै क्षेत्रबाट आचारसंहिता पालना भए मात्रै निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सकिने भन्दै यसका लागि राजनीतिक दलहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो ।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, अग्रज पत्रकार माधव नेपाल,गैरसरकारी संस्था महासंघका धर्मराज घिमिरे लगायतले मिथ्या र भ्रमपूर्ण सूचना प्रवाहलाई रोक्नुपर्ने र आचारसंहिता कडाइपुर्वक पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)