बुटवल,असाेज २६ ।
रुपन्देही क्षेत्र न २ का निर्वाचन अधिकृतलाई परिवर्तन गरी उनको ठाउँमा अन्य अधिकृत खटाउन सत्ता गठबन्धनमा आबद्ध दलहरुले माग गरेका छन् ।
क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीका कतिपय निर्णय राजनीतिक पूर्वाग्रही रहेको पाइएको भन्दै गठबन्धनमा आबद्ध दलहरुले नेपालीलाई हटाउन माग गरेका हुन् ।
बुधबार रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत् निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली काँग्रेका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादीका नेता चीनबहादुर गुरुङ, जनमोर्चा नेपालका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हरि घर्तीमगरले नेपालीलाई तत्काल हटाउन माग गरेका हुन् ।
उनीहरुले अदालतमा मुद्दा विचारधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदासमेत त्यसको बेवास्ता गरि क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्ध गरिएको जनाएका छन् ।
यस्तै, दलहरुले हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाए वापत भनेर उम्मेदवारी रद्ध गरिएकाले त्यो पनि गैरकानूनी भएको जनाएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)