बुटवल,असाेज २५ ।
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
चौधरीको उम्मेदवारी खारेज हुने निर्णय भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका चौधरीको उम्मेदवारी खारेज भएको हाे ।
चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले बताए ।
‘उहाँ २०७४ फागुन १४ देखि निरन्तर कैदमा रहेको भनी डिल्लीबजार कारागारले हामीलाई पत्र दिएको छ, उच्च अदालत डोटीबाट पनि उहाँ दोषी ठहर भएको पत्र दिएको छ’ उनले भने, ‘उहाँ प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ झ अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो ।’
ऐनको उक्त व्यवस्था अनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुन्छन् ।
उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर भएको छ ।
वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थारुको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।
स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला सुनाएका थारुको उम्मेदवारी खारेज गर्न माग गर्दै हालेको निवेदनमाथि सुनवाइ गर्दै मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले उम्मेदवारी बदर हुने निर्णय सुनाएका हुन् ।
थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय गरिएको अर्यालले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)