बुटवल,असोज २४ ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आजदेखि काठमाडौं क्षेत्र नम्बर ५ मा घरदैलो सुरु गरेका छन्।उनले हिजाेमात्रै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्ताको एक दिन पछि उनले काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्।
भोट माग्ने क्रममा निस्किएका पौडैल सोमबार हाँडीगाउँको जात्रास्थलमा पुगे। त्यहाँ उनले युवाहरुदेखि वृद्धवृद्धासम्म भेटेर भोट माग्दै आशिर्वाद पनि लिए। त्यहीक्रममा हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग प्रदीपको जम्का भेट भएको छ।
उक्त जम्काभेटका क्रममा पौडेले मेयर-उपमेयरसँग भलाकुसारी पनि गरे। भेटमा बालेन र प्रदीपले अंकमाल गर्दै हात मिलाएर सद्भाव आदानप्रदान गरे।
काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।
काठमाडौं–५ मा सत्ता गठबन्धनले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य पौडेललाई उम्मेदवार बनाएको छ।
यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल त्यस्तै रञ्जु दर्शना पनि चुनावी मैदानमा छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)