जुम्ला,असाेज २२ ।
जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ बर्षिय गणेश शाही, २२ बर्षिय छोरा रमेश शाही, रमेश शाहीका २२ बर्षिया श्रीमति पानसरा शाही, रमेश शाहीका ८ बर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ बर्षिया विद्या शाहीको मृत्यूु भएको छ ।
घटनामा परी स्थानीय सरस्वती हमाल, रामबहादुर हमाल गम्भीर घाइते हुनुभएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दसहितको टोली उद्धारका लागि पुगेको प्रशासनले जनाएको छ ।
बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका –३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ बर्षिया सत्यदेवी योगी र उहाँका ३ बर्षिय छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उहाँहरुको खोजी भइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)