स्याङ्जा,असोज १८ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई स्याङ्जाको कालीगण्डकीमा सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्बाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्जाको कालिगण्डकी २ कोटाकोट पुग्नु भएका पाण्डेयलाई सोमबार स्थानीयले स्वागत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै उहाँले बुटवललाई आर्थिक केन्द्रका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो ।
निर्वाचित भएपछि आफू जन्मस्थलमा आउन चाहेपनि बजेट निर्माण, बुटवलको मुख्य सडक र ज्योतिनगर पहिरो समस्याका कारण जन्मस्थल आउन ढिलो भएको बताए । चौराहादेखि गोलपार्क सडक निर्माणको कामको लागि उपमहानगरले सहजिकरण गरेको र सडक निर्माणको काम सम्पन्न हुने तर्फ अगाडि बढेको उहाँले बताउनुभयो ।
बुटवलसँगै आफ्नो जन्मस्थल कालिगण्डकी गाउँपालिकाको विकासमा आफुले पहल गर्ने उनले बताए । वडा नं २ का वडाध्यक्ष खगिसरा गाहाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ववडाध्यक्ष नर बहादुर राना, नेपाली काँगे्रसका वडा सभापति शमसेर राना, समाज कल्याण युवा परिवारका अध्यक्ष लेखराज पाण्डेय लगायतले कार्यक्रममा बोलेका थिए ।
कालिगण्डकी गाउँपालिकाले सफल नेतृत्व जन्माउन सफल भएको बोल्ने बक्ताहरुले बताएका थिए । बुटवलको विकासँगै कालिगण्डकी गाउँपालिकाको विकासमा पनि प्रभावकारी भूमिका खेल्न प्रमुख पाण्डेयलाई स्थानीयबासीले आग्रह गर्नुभएको थियो ।
आलमदेवी शक्तिपीठको दर्शन :

बुटवल उपमहानगरपालिकाका प्रमुखु खेलराज पाण्डेय स्याङ्जाको प्रसिद्ध आलमदेवी शक्तिपीठको दर्शन गरेका छन् । प्रमुखमा निर्वाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं२ कोटाकोट पुगेका पाण्डेय महाअष्टमीको अवसरमा आलमदेवी मन्दिर दर्शन गर्न पुगेका हुन् ।
शक्तिपीठमा पुगेर उहाँले सबैलाई दशैंको शुभकामना दिँदै बुटवललाई देशकै सबल आर्थिक केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । आलमदेवी शक्ति पिठको दर्शनका क्रममा पनि आफुले त्यही कामना गरेको बताउँदै उनले सबैको सद्भाव, सहकार्य र बुटवलबासीको प्रेरणाबाट बुटवल देशकै सवल आर्थिक केन्द्र बन्ने बताए । यस्तै प्रमुख पाण्डेयले आलमदेवी क्षेत्रको विकासमा चासो ब्यक्त गरेका छन् ।
आलमदेवी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उनले बताए । आलमदेवी मन्दिर विकास समितिका पदाधिकारीहरुसँग कुराकानी गदैै उनले रानीमहल, आलमदेवी, बडहरकुन शिला, सेतिवेणी शिलालाई जोडर धार्मिक पर्यटकीय पथ मार्ग निमाण गर्न सके यस क्षेत्रको विकास हुने धारणा राखे ।
आलमदेवी मन्दिरमा बडादशैको महाअष्टमी र चैतेदशैका दिन विशेष पुजाअर्चना हुँदै आएको छ ।शाहबंश राजाहरुको कुल मन्दिर रहेको आलमदेवी शक्ति पिठको ऐतिहासिक तथा धार्मिक महत्व रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)