बुटवल,असोज १४ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीका गुनासो र समस्या सुन्न र त्यसलाइ तत्कालै समाधान गर्न ‘हेल्लो तिलोत्तमा’ सुरु गरेको छ । हेल्लो तिलोत्तमाको नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरीले एक समारोहका बिच शुक्रबार उद्घाटन गर्नुभयो ।
नगर क्षेत्र भित्रका सम्पूर्ण नगरवासीहरुले आफ्ना मनमा लागेका गुनासोहरु टोल फ्रि नं. १६६०७१५६६६ र ०७१५५६०५९९ मा फोन गरेर अथवा नगरपालिकाको वेवसाइटमा गइ कमेन्ट बक्समा गुनासा राख्न सकिने ब्यवस्था गरिएको छ ।
नगरवासीका गुनासोहरु नगरपालिका सम्पत्ति भएकाले गुनासो सुन्न र ती गुनासोहरुलाई समाधान गर्न हेल्लो तिलोत्तमाको सुरुवात गरेको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो –‘जनताको गुनासो सुन्ने र आत्मसाथ गर्ने बानी गर्नुपर्दछ यी सबै हाम्रो लागि सम्पत्ति नै हो, जनताका गुनासोहरुले विकास निर्माण र समाज रुपान्तरणका लागि अघि बढ्न प्रेरणा दिन्छ ।’गुनासो सुन्ने मात्रै होइन,समाधान गर्नेगरि काम हुने उहांको बिश्वास रहेको छ ।

उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरवासीले आफ्ना केही गुनासाहरु भए कार्यालय नआई आफ्नो घरबाट नै आफ्ना गुनासाहरु राख्न सक्ने बताउनुभयो ।
हेल्लो तिलोत्तमा २४ घण्टा नै सञ्चालनमा रहने प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।
हेल्लो तिलोत्तमामा आजमात्रै पहिलो गुनासो दुधमा बढी पानी मिसाएर बिक्री भैरहेको गुनासो आएपछि नगरले त्यसलाई समाधान गर्न आग्रह गरिसकेको खाँणले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)