बुटवल,असोज १३ ।
लुम्बिनी विकास कोषले एशियाली विकास बैंक (एडीबी) बाट अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण सुरु गरेको छ । १४ वटा विद्युतीय भ्यान र ५ वटा बस विगत ३ वर्षदेखि सञ्चालन हुन नसक्दा लुम्बिनीमा थन्किएका थिए ।बिहीबार लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका ६ वटा रुटमा ५ वटा बस सञ्चालनमा आएका हुन् ।
पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडीबी) ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारीसाधन विगत तीन वर्षदेखि थन्किएर बस्दा चौतर्फी आलोचना भएको थियो ।
लुम्बिनीमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय), कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघ र रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय)ले कोभिड र बस सञ्चालनको प्रक्रिया एकदमै जटिल भएका कारण सञ्चालनमा ढिलाइ आएको बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले लामो समयदेखि थन्किएर रहेको विद्युतीय बस परीक्षणको रुपमा निःशुल्क रुपमा सञ्चालनको सुरुवात भएको बताए । उनले बस सञ्चालनका लागि स्थानीय प्रशासनले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्विचरण)ले लुम्बिनीमा आउने पर्यटकको बसाई लम्ब्याउन र यसले नयाँ प्याकेज बनाउन मद्दत पुग्ने बताए । उनले बसहरु किन सञ्चालनमा आउन सकेनन् भन्ने कुरामा गृहमन्त्री बालकृष्ण खाँणले जिज्ञासा राख्नुभएको र यसका निम्ति आफूहरु हर्षित रहेको बताए ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले पर्यटक र यात्रुलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले रुट तय गरेर बस सञ्चालनमा ल्याइएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशव के.सी.ले सुरक्षित यात्राका ट्राफिक नियमको पालना गर्न आग्रह गरे ।सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले लुम्बिनीको विकासले नेपालको विकास हुने बताए ।
सवारीसाधन तीन वर्षदेखि थन्किरहेका बेला गृहमन्त्री खाँणले विश्व पर्यटन दिवसको अवसरमा मंगलबार भैरहवामा आयोजित कार्यक्रममा अविलम्ब सञ्चालनमा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएका थिए । परीक्षणकालसम्म बसहरु निःशुल्क रुपमा सञ्चालनमा आउने विकास कोषले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)