बुटवल,असाेज १० ।
बुटवल उपमहानगरपालिकाको निमन्त्रणामा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देही आउनुभएको छ । अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका अध्यक्षसमेत रहनुभएका प्रमुख पाण्डेयले आम्दा ईन्टरनेशनलले स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले बुटवलले आम्दासँग निरन्तर सहकार्य गर्न चाहेको र बुटवलको अस्पताललाई स्तरोन्नति गर्ने योजनामा रहेको बताउनुभयो । आम्दाका अध्यक्ष सुगानामीले बुटवलसँगको सहकार्य निरन्तर अघि बढाउन ईच्छुक रहेको बताउनुभयो ।
सुगानामीको नेतृत्वमा रहेको टोलीमा आम्दा नेपालका अध्यक्ष डा अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा। सरोज ओझा, डा। दिनेश विनोद पोखरेल तथा आम्दा ईन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मी रहनुभएको छ ।
करीब ७ वर्षपछि बुटवल आउनुभएका अध्यक्ष सुगानामी सोमबार लुम्बिनीमा रहने, मंगलबार लुम्बिनी भ्रमण गर्ने र मंगलबार नै बुटवल उपमहानगरपालिकासँग छलफल कार्यक्रम रहेको आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र बस्यालले जानकारी दिनुभयो । उहाँले बुटवल उद्योग वाणिज्य संघ, आम्दा अस्पतालको अवलोकन गर्ने र छलफल गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)