गुल्मी,भदाै २४ ।
गुल्मीको रूरू क्षेत्रगाउँपालिकामा कुकुरको बन्ध्याकरण अभियान सुरु गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा रुरुक्षेत्र गाउँपालिकाले कुकुर बन्ध्याकरण अभियान थालेको हो।
सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले पोथी कुकुरको बन्ध्याकरणले थालिएको भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताए।
सामुदायिक कुकुरको संख्या नियन्त्रण र रेबिजलगायतका जुनोटिक रोगको प्रकोप रोकथाम हुने उद्देश्यले अभियान थालिएको हो। यसबाट कुकुरका कारण हुने सडक दुर्घटनामा कमी आउने अपेक्षा छ ।
शल्यक्रियाद्वारा कुकुरको स्थायी बन्ध्याकरण गर्न थालिएको छ। संगिनी सुई लगाएर अस्थायी बन्ध्याकरण गर्दा पाठेघर सुन्निने र पाठेघरमा पिप रहने सम्भावना हुन्छ।
पाठेघरको क्यान्सरबाट कुकुरलाई बचाउन पनि स्थायी बन्ध्याकरण गरिएको काफ्लेले बताए। अहिले कम्तीमा ५० वटा कुकुरको बन्ध्याकरण गरिने कार्यालयले जनाएको छ।गाउँपालिकामा बजारक्षेत्रदेखि गाउँसम्म कुकुर आतंक रहेको छ।
कुकुर समूहमा अत्यधिक धेरै हुने, कृषकका घरघर गएर पशुचौपाया र मान्छेलाई समेत टोक्ने अवस्था आएपछि नियन्त्रण अभियान थालिएको गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)