बुटवल,भदौ १२ ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको तीज धमाका नाईट २०२२ सम्पन्न भएको छ । नेपाली कला संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्धेश्यका साथ सञ्जाल अष्ट्रेलियाले तिज धमाका गरेको हाे । कार्यक्रममा ५०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायीका शान्तिश्री परियार प्रस्तुतीका लागि पुगेका थिए । अधिकारी र परियारले प्रस्तुत गरेका विभिन्न तिजका गीतमा सहभागिहरुले निकै रमाएका थिए ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रुपन्देही सामाजिक सञ्जालले अनाथ तथा असहाय र फरक क्षमता भएका बालबालिकाहरुको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम ईन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा सम्पन्न भएको थियो । आफ्नो मातृभूमी छाडेर परदेशमा रहेका दिदी बहिनीहरुलाई जमघट गराई नेपाली मौलिक तीजको झल्को दिने उद्धेश्य सहित गरिएको कार्यक्रम सफलताका साथ सम्पन्न भएको सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले नागरिक अनलाइनलाई जानकारी दिए ।
कार्यक्रममा सहभागिहरुलाई नेपाली खानपान सहित नाचगानको समेत व्यवस्था गरेको सञ्जालकी कला साहित्य तथा संस्कृति संयोजक सुचना पाण्डेले बताईन् ।
अवैतनिक महावाणिज्यदूत दिपक खड्काको प्रमुख आतिथ्यता, समाजका अध्यक्ष क्तिराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा, गैरआवशिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष एवं एनएसडब्ल्यूका कोअडिनेटर देव गुरुङ लगाएत विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
यसैगरी औपचारिक कार्यक्रमको सञ्चालन सञ्जालका महासचिव रंजिता भण्डारीले र अनौपचारिक साँस्कृतिक कार्यक्रमको सञ्चालन सूचना पाण्डे र सपना गुरुङले सञ्चालन गरेका थिए ।
रुपन्देही स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका नेपालीहरुको साझा संस्था रुपन्देही सामाजिक सञ्जाल(RSNA) ले असहाय अपागंता भएका तथा गरिब र विपन्नलाई सहयोग गर्दै आईरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)