बुटवल,भदौ ११ ।
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटनसँगै बुटवलबासीको एउटा सपना पूरा भएको बताउनुभएको छ ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उहाँले लामो समयको धैर्यतापछि सम्मेलन केन्द्रको उद्घाटन भएको जनाउँदै जिल्लाबासीका लागि यो खुशीको कुरा भएको बताउनुभयो । “यो रुपन्देहीको गहना हो । यहाँ नियमित कार्यक्रम गर्ने, राष्ट्रिय र अन्तरराष्ट्रिय सम्मेलनको माध्यमबाट यसको भरपूर सदुपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
जिल्लाका अन्य महत्वपूर्ण योजनाहरु समेत सम्पन्न भइ उद्घाटनको चरणमा प्रवेश गरेको जनाउँदै उहाँले केही समयमै बुटवल प्रदर्शनी केन्द्रको समेत उद्घाटन हुने बताउनुभयो । “यो सम्मेलन केन्द्रको उद्घाटन रुपन्देहीका जनप्रतिनिधी विकासको गफ गर्न होइन विकासको काम गर्न प्रतिवद्ध छन् भन्ने कुराको प्रमाण हो । अब यसको अप्रेशन मोडालिटी छिटो तयार हुनुपर्छ”, उहाँले भन्नुभयो ।
नेकपा एमालेका उपाध्यक्ष तथा यस क्षेत्रका सांसद रहनुभएका पौडेलले यो सम्मेलन केन्द्रमा अन्तरर्राष्ट्रिय सम्मेलन तथा विभिन्न अन्तरर्राष्ट्रिय स्तरका कार्यक्म आयोजना गर्नेबारे सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
विकासमा नयाँ मानक स्थापना गर्न रुपन्देही सफल भएको जनाउँदै उहाँले यहाँ निर्माण भएको ६ लेन सडक, अन्तरर्राष्ट्रिय विमानस्थल लगायत महत्वपूर्ण आयोजनाले यो ठाउँलाई अझै माथि लैजाने विश्वास व्यक्त गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)