बुटवल,भदौ १० ।
रुपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयले अटिजम भएकाहरुका लागि छुट्टै भवन बनाएर पठनपाठन शुरु गर्ने भएको छ । तिलोत्तमा नगरपालिका ५ मणिग्राममा रहेको बिद्यालयमा बिशेष शिक्षा अन्तर्गत अटिजम भएका बिद्यार्थीहरुको पठनपाठन हुने विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो ।
‘हामीले २ बर्ष लगाएर ६ कोठे सुविधा सम्पन्न भवन बनाएका हौं,यसमा लुम्बिनी प्रदेश सरकारको ४७ लाख र बिद्यालयको करिब ७ लाख लगानी भएको छ ।’ उहाले भन्नुभयो —‘अबको १महिनामै शुरु गर्छाै ,२ शिक्षक र १ सहयोगी तत्कालै आवश्यक छ ,सरकारले यसमा सहयोग गरेमा हामी ब्यबस्थापन गर्छाै । ’
लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्दीन खाँले अटिजम भवनको बुधबार शुभारम्भ गर्नुभयो । अटिजम भएका बच्चाहरुलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचार आबस्यक रहेको उहांको भनाइ छ ।
मन्त्री खाँले पुनस्र्थापनाबाट सामान्य अवस्थामा ल्याउनको लागि श्री शान्ति विद्यालयले चालेको कदम उचित रहेको र यसमा प्रदेश सरकारले सहयागे गर्ने बताउनुभयो । चाहिने स्रोत साधनमा सरकारले सहयोग गर्ने मन्त्री खांनको प्रतिबद्धता छ ।
सो अबसरमा तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताउनुभयो । यसका लागि नवजात शिशुको विकासक्रममा दुई–तीन वर्षदेखि नै हुने असामान्य अवस्थाहरुमा ध्यान दिनुपर्ने उहाको भनाइ छ ।
पछिल्लो समय आमा बुबाको व्यस्तताले बालबालिकालाई भुलाउने क्रममा दिईने मोबाईलका कारण पनि बच्चामा अटिजम हुने गरेको देखिएको छ ।
अटिजम केयर सोसाईटि लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैमा विशेष अवस्था भएको बताउनुहुन्छ । हेर्दा सामान्ने देखिने बच्चाहरु अरु बच्चा भन्दा फरक देखिने र केहि समय बच्चाहरु संग घुलमिल गर्नेले मात्रथाहा पाउन सकिने उहाको भनाइ छ ।
शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले नेपालमै पहिलो अटिजम स्कुल संचालन गर्न लागेको र यसका लागि सबैको साथ रहनुपर्ने बताउनुभयो । उहांले त्यसका लागि आबस्यक पर्ने स्रोत साधन उपलब्ध गराई दिन स्थानिय तह र प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)