बुटवल,भदाै ४ ।
सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएका प्रयासहरु प्रभावकारी बन्न सकेका छैनन् । लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरीलेअभियानहरु चलाएको भए पनि त्यसको रिजल्ट सकारात्मक बन्न नसकेको हो ।
लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा ३ हजार ४९६ सवारी दुर्घटना हुंदा एक हजार ५६१ जनाको ज्यान गएको छ ।सो अवधिमा दुर्घटनामा परी प्रदेशभर ३ हजार २६० जना गम्भीर घाइते र एक हजार ८३६ जना सामान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रदेशमा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा महिलाको तुलनामा पुरुषको संख्या ५ गुणा बढी छ । दुर्घटनामा मृत्यु हुने महिलाको संख्या २४४ छ भने पुरुष एक हजार १६८ छन् । यस्तै, १०३ बालक र ४६ बालिकाको दुर्घटनामा मृत्यु भएको तथ्यांक छ ।
दुर्घटनामा मृत्यु दर भने बर्षेनी बढ्दो छ ।
आर्थिक वर्ष २०७६-७७ मा १ हजार १२२ सवारी दुर्घटनामा ४८४ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा कुल १ हजार २१२ सवारी दुर्घटनामा ५२७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८-७९ मा सवारी दुर्घटनाबाट ५५१ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले डिएसपी मोहन खाँणले बताउनुभयो ।
‘हामीले चलाएको अभियानले दुर्घटना न्युनिकरण गर्ने उद्धेश्य हुन्छ,तर डाटा हेर्दा हामीले गरेको र हामीसंग सहकार्य गरेर नीजि क्षेत्रका क्लव,संघसंस्थाले गरिरहेको कामको परिणाम भनेजस्तो आएन ।’उहाको भनाइ छ ।लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा सबैभन्दा धेरै मानवीय क्षति रुपन्देहीमा हुने गरेको प्रहरीको तथ्याङ्क देखिन्छ । तीन वर्षको यहि अवधिमा रुपन्देहीमा सवारी दुर्घटनाबाट ३५९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेको संख्या सबैभन्दा कम रुकुम जिल्लामा छ । यहाँ तीन वर्षमा सवारी दुर्घटनाका कारण जम्मा १५ जनाको मृत्यु भएको छ ।
बाँकेमा विगत तीन आर्थिक वर्षमा सवारी दुर्घटनामा २१३ जनाको मृत्यु भएको छ । यस्तै पश्चिम नवलपरासीमा १३२ जना, कपिलवस्तुमा १८९, बर्दियामा १२१, पाल्पामा ६७ जनाको मृत्यु भएको छ ।विगत तीन वर्षमा सवारी दुर्घटनाका कारण गुल्मीमा ६४ जना, अर्घाखाँचीमा ४६ जना, रोल्पामा ४१, प्युठानमा ६२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।लुम्बिनी प्रदेशमा तराईका जिल्लाको तुलनामा पहाडी जिल्लामा सवारी दुर्घटनामा कम हुने खाँणले बताउनुभयो । उहाका अनुसार रुपन्देही, बाँके र दाङ जिल्लामा बढी सवारी दुर्घटना भैरहेको छ ।
रुपन्देहीमा गत आर्थिक वर्षमा दुर्घटनामा परि ९४ जनाले ज्यान गुमाएका छन् । बिभिन्न १ सय ७२ वटा दुर्घटनामा परि रुपन्देहीमा ९४ जनाले ज्यान गुमाउनु परेको हो । सोही क्रममा जिल्लामा १ सय ७१ जना गम्भिर घाईते र ५९ जना सामान्य घाईते भएका छन् । यो संख्या अघिल्ला वर्षहरुको तुलानामा बढी हो ।
तराईमा पैदल यात्रीले जहाँ पायो त्यहीँबाट बाटो काट्ने, चालकको लापरवाही, तीव्र गति जस्ता कारणले सवारी दुर्घटना बढी हुने गरेको छ भने पहाडी इलाकामा साघुरोबाटो, चालकको लापरवाही,तीब्र गति,ओभरलोड,पहिरो खस्ने कच्ची सडक मूल कारण हुन् । रुपन्देहीमा भएका १ सय ७२ वटा दुर्घटना मध्ये १ सय ५२ वटा दुर्घटनाहरु तिव्र गतिकै कारण भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)