बुटवल,भदाै ३ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले कांग्रेस चुनौतीको सामना गर्ने पार्टी भएको बताएकी छन् । उनले कांग्रेसमा चुनौतीको सामना गर्ने परिवार रहेको र परिवार एकजुट भएर अगाडी बढे ठूलाठूला आधिबेरीको सामना गर्न सकिन्छ भन्ने हिजोको इतिहासले देखाएको दावी गरिन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले शुक्रबार भैरहवामा आयोजना गरेको केन्द्रीय सदस्यमा मनोनित गंगा शाहीको स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौतीको सामाना गर्न सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिइन् । उनले कांग्रेस सधै चुनौतीमा उभिएको बताइन् ।
नेपाल महिला संघ रुपन्देहीकी सभापति समेत रहेकी शाहीले कर्म गरेपछि सुगन्धित र मीठो फल पाउन सकिने बताइन् । कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले कांग्रेसले महिलालाई विभिन्न अवसर र स्थान दिएको बताए ।लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले गृहमन्त्री बालकृष्ण खाँणको रुपन्देहीमा मात्र नभइ मुलुकमा महत्वपूर्ण भूमिका रहेको बताइन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले रुपन्देहीले तीनवटा केन्द्रीय सदस्य पाउनु गर्वको कुरा भएको बताए । संविधानसभा सदस्य जन्नतुन निशाले रुपन्देहीले तीनवटा केन्द्रीय सदस्य र महिलाले अवसर पाउनु गर्वको कुरा भएको बताइन् ।
कांग्रेस महासमिति सदस्य दीपक क्षेत्री न्यौपानेले पार्टीका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।महाधिवेशन प्रतिनिधि बसन्त कुमार लाल कर्णले केन्द्रीय सदस्य गंगा शाहीको भूमिका बढेको बताए ।
कांग्रेस महाधिवेशन प्रतिनिधि रमेश खनाल, पार्टीका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, शुद्धोधन गाउँपालिकाका सभापति दामोदर पौडेल लगायतले बोल्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताए ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको सभापतित्व, क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)