Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही पूर्ण खोप घोषणा

रुपन्देही पूर्ण खोप घोषणा

  • 1.4K
    SHARES

  • रुपन्देही पूर्ण खोप घोषणा

    बुटवल,साउन २८ ।

    रुपन्देही जिल्ला १२ वर्ष उमेरमाथिको कोभिड–१९ विरुद्धको पहिलो श्रृंखलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको छ  ।स्वास्थ्य कार्यालय, रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले जिल्लालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप घोषणा गरेका हुन् ।

    कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सरकार नागरिकको जीवन रक्षामा कटिबद्ध रहेको बताए । ‘वर्तमान गठबन्धन सरकार बनेपछि हरेक नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने वातावरण मिलाइएको हो’, उनले भने, ‘सरकार अन्य किसिमका स्वास्थ्य जटिलताबाट नागरिकलाई उन्मुक्ति दिलाउन लागि परेको छ ।’  उनले कोरोना महामारीविरुद्धको अभियानमा लागेका सम्पूर्ण नागरिकलाई धन्यवाद दिए । उनले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताए ।

    गृहमन्त्री खाँणले सम्पूर्ण नेपाली नागरिकलाई नागरिकता पाउने सुनिश्चतता नेपालको संविधानले नै गरेको बताए । उनले नेपालका सबै नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनुपर्छ भनेर पछिल्लो समय संघीय कानूनको आवश्यकता भएपछि नागरिकता विधेयक संसद्बाट पास गरिएको बताए । गृहमन्त्री खाँणले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा २२ महिनासम्म नागरिकता विधयेकको बारेमा छलफल भएको र सहमति जुट्न नसकेपछि समितिले प्रतिनिधिसभामा फर्काएको बताए । उनले भने, ‘पूर्ववर्ती सरकारले पेश गरेको नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले संसोधन समेत गरेर प्रतिवेदनको रुपमा प्रतिनिधिसभामा पठायो, प्रक्रियागत रुपमा आयो ।’ उनले त्यो प्रतिवेदनलाई पूर्ववर्ती सरकारले गम्भिरतापूर्वक नलिएको बताए । सरकारले प्रतिनिधिसभा विघटन गर्नुअघि त्यसका बारेमा कुनै चासो नलिएको बताए । गृहमन्त्री खाँणले प्रतिनिधिसभा आफै भंग गरेपछि सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएर १८ दिनसम्म अध्यादेशकै आधारमा नागरिकता वितरण गरिएको बताए । उनले सर्वोच्च अदालतले नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले अध्यादेशमार्फत मात्र ल्याएर हुँदैन भनेपछि त्यो प्रतिनिधिसभा र राष्ट्रियसभामा नागरिकता विधेयकको रुपमा अघि बढाइएको बताए ।

    नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले अध्यादेश मात्रै ल्याएर नहुने जनाउँदै यो विधेयक बन्नुपर्ने र संसदबाटै पारित हुनुपर्छ भन्ने नेपाली कांग्रेसले विगतदेखि नै बताउँदै आएकाले सोही अनुसार पारित गरिएको बताए । ‘प्रतिपक्षले लामो समय संसद चल्न दिएन र संसद चलेपछि सबैको सहकार्यमा नागरिकता विधयेक पारित गरिएको हो’, उनले भने, ‘पूर्ववर्ती सरकारले ल्याएकै विधेयकअनुसार सबैको सहमतिमा नागरिक विधयेक पारित भएको छ ।’ उनले नागरिकता विधेयकका विषयमा जनतालाई भ्रम फैलाउन नहुने जनाए ।

     

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले तोकिएको समयमै निर्वाचन हुने बताए । ‘निर्वाचन तोकिएकै समयमा भयरतिह, स्वच्छ वातावरणमा सम्पन्न हुन्छ’, उनले भने । 


    सरकार निर्वाचनको तयारीमा लागिसकेको उनको भनाइ छ ।कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले कोभिड–१९ विरुद्धको अभियानमा एकढिक्का भएर संघर्ष गरेकै कारण पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको बताए ।

    रुपन्देहीको जम्मा जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना रहेको र त्यसमा १२ वर्ष भन्दा माथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्य भन्दा बढी अर्थात ८ लाख ५३ हजार ७८ जनालाई कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए । उनले रुपन्देही जिल्लाको कोभिड–१९ रोग विरुद्दको खोपको पहिलो र दोस्रो मात्राको प्रगति देवदह, बुटवल, सैनामैना, कंचन, तिलोतमा, सिद्धार्थनगर नगरपालिकाको सत प्रतिशत भन्दा बढी प्रगति भएको र बाँकी पालिकाहरुको १ सय प्रतिशत भन्दा केही कम देखिएको बताए । शहरी क्षेत्रका पालिकामा अन्यत्रबाट आएर बसोबास गर्ने नागरिकले पनि खोप लगाएकाले लक्ष्य भन्दा बढीले भएको हो । समग्रमा जिल्लाको खोप प्रगति १०२ प्रतिशत रहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

    कार्यक्रममा रुपन्देहीका स्थानीय तह, स्वास्थ्य शाखा तथा विभिन्न संघ–संस्थालाई सम्मान समेत गरिएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षता तथा पत्रकार सन्जु पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।health bk khad.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology