बुटवल,साउन १९।
बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण सकिएको छ । बुटवल ८ रामनगर (प्रदर्शनी मेला लाग्ने स्थल) मा करिब ८ बर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो ।
बिस २०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण प्रभावित भएको थियो । एक हजार जना मानिस अट्ने सभाहलसहितको सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तराष्ट्रियस्तरका सभा, सम्मेलनहरु गर्न सहज हुने भएको छ । बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डप संघीय सरकार सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र बनेको हो ।
नेपालको झन्डा आकारमा तयार पारिएको सभाहल तत्कालै प्रयोगमा ल्याउन सकिनेछ । सो हलमा ८७२ वटा फिक्स कुर्र्सी जडान गरिएको भने सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ । त्यस्तै सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ ।
अब तत्कालै प्रयोग गर्न मिल्नेगरि सभाहल तयार भइसकेको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो । उनका अनुसार सम्मेलन केन्द्रको भौतिक संरचना पूर्ण रुपमा सम्पन्न भएको हो भने सभाहलबाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी छ ।
चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ । सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ । लिफ्टको सुविधासहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतीक संरचना तयार पारिएको छ । विद्युतका लागि छुट्टै सब स्टेशन राखिएको छ। ६३० केभीए क्षमताको विद्युत ट्रान्सपफर्मर पनि जडान गरिएको छ ।
खोनपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आर्कषक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पट्टी पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरि ५ वटा वटा अलग अलग गेट तयार पारिएको छ । बिशिष्ट प्रवेशद्धार र सर्भिस गेट पनि बनाइएको छ ।
बाँकी ३ वटामध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटा गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ । बाल उद्यान, कफि सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टर समेत बनाइएको छ।
२०७१ साल पुसबाट निर्माण थालेपनि दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयअवधि तोकेर काम भएको हो । तर, तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्याद अगावै २०७८ असारमै निर्माण सम्पन्न गरेको बुटवलसभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख पन्थीले बताउनुभयो ।सो सम्मेलन केन्द्र ९.६ बिगाहामा बनेको छ ।

भौतिक रुपमा निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र सञ्चालनको मोडालिटीबारे अझै टुंगो लागिसकेको छैन । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भइरहेको छ ।
सम्मेलन केन्द्रको भौतिक निर्माण तयार भए पनि कसरी सञ्चालन गर्ने भन्नेबारेमा सहरी विकास मन्त्रालय, बुटवल उपमहानगरकाबीच सामान्य छलफल मात्रै भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र बुटवलमा बढ्दो सहरीकरणका कारण सम्मेलन केन्द्र सञ्चालन गर्न सकिने जनप्रतिनिधिहरुको भनाई छ ।
बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले सम्मेलन केन्द्र सञ्चालनमा चासो राख्दै केही दिनअघि अवलोकन गर्नुभयो । बुटवल उपमहानगरले आफैँ सञ्चालन गर्ने गरी यसअघि नै सहमति भए पनि यसको सञ्चालन खर्च ठूलो हुने भएकाले समस्या हुने अनुमान शुरु भैसकेको छ ।
बुटवल प्रदेशको राजधानी हुने अनुमानका साथ एकै थलोमा ठूलो संख्यामा मानिसहरु अट्ने हलसहितको सम्मेलन केन्द्र बनाइएको हो । तर, प्रदेशको राजधानी दाङको भालुवाङ तोकिएकाले मानिसहरुको चहलपहल बुटवलमा कम हुनसक्ने भएकाले चुनौती हुने बताइएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले समेत तयार भएको भवनको अवलोकन गर्दै यसलाई प्रदेशकै ठूला कार्यक्रम गर्ने थलो बताउने प्रतिबद्धता जनाउनुभएको छ ।
आयोजनाका अनुसार ३ करोड न्यूनतम मासिक खर्च सम्मेलन केन्द्रको आउँछ । त्यसैले अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्ने मोडालिटीबारे तीन तहकै सरकारबीच गहन छलफल गरी स्पष्ट योजना बनाउन आवश्यक रहेको आयोजना प्रमुख पन्थीको भनाइ छ ।
१६ विगाहा क्षेत्रफल मध्ये ९.६ विगाहामा सम्मेलन केन्द्र र सभाहलको पश्चिमपट्टी ६.५ विगाहमा अन्र्तराष्ट्रिय अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणधिन छ । सम्मेलन केन्द्र तयार भए पनि अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्रको काम भने सुस्त भएको छ । अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्रको भवन करिब तयार हुने चरणमा छ ।
प्रदर्शनी केन्द्रको ६१ प्रतिशत भौतिक प्रगति भएको छ । बुटवल मण्डपमा रुपन्देहीका संघसंस्थाहरुले अस्थायी संरचना बनाएर मेला महोत्सव सञ्चालन गर्दै बर्षेनी १ करोडको हाराहारीमा बालुवामा पानी सरह लगानी गर्नै आएका थिए । बुटवल मण्डपलाई बुटवल उपमहानगरको नीति कार्यक्रममा जीपी कोइराला बुटवल मण्डप भनेर नामाकरण गर्ने प्रस्ताव समेत गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)