बुटवल,साउन १५ ।
हराएका भनेर खाेजी भैरहेका सैनामैना–६ कलौनी बस्ने दीपक भन्ने ४३ वर्षका कुलचन्द्र गौतम हत्या आराेपमा पक्राउ परेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई बुटवल बेलबासमा बस्ने विष्णुबहादुर पाण्डेको हत्या आराेपमा उनी पक्राउ परेका हुन् ।
गाैतम अर्घाखाँची पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना–६ कलौनी बस्दथे । पाण्डेसँग १६ लाखमा किनेको ट्रकको पैसा तिर्न नसकेपछि गौतमले कालिज मार्न जाने बहाना बनाएर जंगलमा लगी हत्या गरेको खुलेको रुपन्देही प्रहरीले बताएको छ ।
घर निर्माण र मोटरपार्टस पसल सञ्चालन गर्दाको ऋणका कारण ट्रक किनेको रकम तिर्न नसकेपछि हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।
प्रहरीका अनुसार पाण्डेको लु १ ख ७७८१ नम्बरको ट्रक गौतमले पछि रकम तिर्ने शर्तमा किनेका थिए । उक्त रकम दिने भन्दै गौतमले पाण्डेलाई ९ साउनमा बुटवलबाट अर्घाखाँचीको पाणिनी पुर्याएका थिए । तर घरमा पुगेपछि परिवारले रकम नभएको बताएपछि कुलचन्द्रले योजनावद्ध रुपमा हत्याको योजना बनाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।
१० साउनमा गौतमले पाण्डेलाई कालिज मार्न जाऔं भनी पाणिनी गाउँपालिका–२ डांडाकटेरीस्थित सिद्ध सामुदायिक वनको जंगलमा पुर्याएका थिए । त्यहाँ पाण्डेलाई फलामको रडले पछाडिबाट टाउकोमा प्रहार गरी भीरबाट खसालेर हत्या गरेको अनुसन्धानबाट खुलेको केसीले बताए ।
पाण्डे सम्पर्कविहीन भएपछि छोरी शीला पाण्डेले साउन ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले खोजतलास गर्दा साउन १४ गते दिउँसो ३ बजे पाणिनी–२ डांडाकटेरीस्थित सामुदायिक वनमा पाण्डे मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धानको क्रममा गौतमलाई १५ गते बिहान बेलहिया नाकाबाट पक्राउ गरिएको डीएसपी केसीले बताए । हत्यामा प्रयोग भएको फलामको मोटो रड गौतमको बुटवल मैनाबगरस्थित जय मोटरपार्टस्मा लुकाइ राखेको अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले बताएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)