काठमाडाै,साउन १० ।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीका अनुसार सबैको लागि दिगो खानेपानी तथा सरसफाई आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन करिब १ अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
उहाँले सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्वीस फ्र्यांक ७.४७ मिलियन करिब ९५ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताउनुभयो।
सरकारले फिनल्याण्डमा साउन २६ देखि भदौ १ गतेसम्म उच्चस्तरीय अध्ययन भ्रमणमा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल र सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृत प्रदान गरेको छ। चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनित गर्ने निर्णयसमेत गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)