बुटवल, साउन ४।
दुइहप्ता अघि सिमेन्ट निर्यात भएलगत्तै नेपालबाट पहिलाेपटक फलामे छड पनि भारत निर्यात हुन थालेको छ । रुपन्देहीको रोहिणी गाउपालिका ३ सेमरहवा मा रहेको श्री स्टील्स प्रालीले बुधबार देखि भारतमा स्टील्स निर्यात गर्न सुरु गरेको छ ।
स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा नेपाल सरकारले प्रदान गर्ने ८ प्रतिशत अनुदान दिए संगै उद्योगले आफ्नो उत्पादनहरु बुधबार देखि भारतमा निकासी गर्न सुरु गरेको हो ।
बुधबार उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक एक ट्रक,करिब ३५ टनसम्म टिएमटी फलामे छड पठाएको छ ।बलियो र गुणस्तरीय निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले सरकारले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार भारत निर्यातको शुभारम्भ गरेको श्री स्टील्स प्रालीका सञ्चालक राजेश अग्रवालले बताए ।

‘हाम्रो गुणस्तर र उत्पादनलाई कायम तथा वृद्धि गर्दै मुलुकलाई स्टील्समा आत्मनिर्भर बनाउँदै विदेश निर्यातमा पनि वृद्धि गर्ने अभियानका साथ अगाडि बढ्ने छौ ’ उनले भने । उनले नगद अनुदान घोषणा भएपनि छिटो कार्यबिधि बनाउन सरकारलाई आग्रह गरे ।
उद्योगका कार्यकारी निर्देशक सोनेस अग्रवालले छड भारत निकासी पछि देशमा मुद्रा सञ्चिति बढ्ने बताए ।
रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले रोहिणी बाट भारतमा छड निकसी हुनु सुखद रहेको बताए ।
केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप, मुरारका ग्रुप तथा उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित यस उद्योगले श्री स्टील्स टिएमटी फलामे छड उत्पादन गर्दै आएको छ ।
कम्पनीले नेपालमै पहिलो पटक जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको र जुन भूकम्प र अग्नी प्रतिरोधात्मक रहेको उनले बताए । साथै उनले आकार र तौलमा एकरुपता रहेको उनले बताए ।
करीब तीन अर्ब लगानी रहेको यस उद्योगमा ५ सय जना प्रत्यक्ष रोजगार पाएका छन् ।

प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ८०० सय टन स्टिल उत्पादन गर्दै अएको छ ।उद्योगले हालै बाट आफनै अत्याधुनिक प्लान्ट मार्फत स्पञ्ज तथा स्काप आईरन बाट गुणस्तरीय बिलेटहरु समेत उत्पादन गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)