बुटवल,साउन ३ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट दलहरुबिचको सहमतिपछि बहुमतले पारित भएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः मंगलबारको १२ औं अधिबेशन (पांचौ बैठक)बाट बजेट पारित भएको हो ।
असार अन्तिम साताबाट आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित नहुंदा खर्च समेत रोकिएको थियो ।
मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको नगर प्रमुख रामकृष्ण खांणले बताउनुभयो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ ।
नगरसभाले आर्थिक वर्ष २०७९–८० का लागि उपप्रमुख जगेश्वरीदेवी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।
नगरसभा बैठकले बजेट पारितसँगै विभिन्न चार वटा समितिका संयोजक र सदस्य चयन गरेको छ । बैठकले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ ।
यस्तै, लेखा समितिमा एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उपेन्द्र बस्याल (एमाले) र पूर्णप्रसाद आचार्य (माओवादी केन्द्र)का सदस्य छन् । काँग्रेसबाट निर्वाचित वडा नं १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति पनि गठन भएको नगर प्रमुख खांणले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)