बुटवल साउन ३ ।
नेपाल प्रेस युनियनको सभापतिमा नेपाली कांग्रेसको संस्थापन पक्षले अनिता बिन्दुलाई टिकट दिएको छ । हेटौँडामा साउन ६ र ७ गते हुने महाधिवेशन हुदैछ ।
नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्षसमेत रहेकी उनलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले युनियन अध्यक्षमा उठाउने निर्णय गरेको हो।स्रोतका अनुसार अध्यक्षको दौडमा रहेका अर्का दाबेदार सरोजराज अधिकारी अब वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीष्मराज ओझाले महासचिवमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ।त्यस्तै महासचिवमा दाबी गरेका केशव सावद अब उपमहासचिवमा लड्ने भएका छन्। अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्ने भएकी छन्। त्यसैगरी उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्षसहित अन्य पदमा उठाउने उम्मेदवारबारे संस्थापनले छलफल गरिरहेको छ।
युनियनको अध्यक्षमा संस्थापन इतरबाट शिव लम्सालले दाबी गरिरहेका छन्। त्यसैगरी लम्सालसँगै दीपक आचार्य पनि अध्यक्षको दौडमा छन्। इतरबाट महासचिवमा दिलिप पौडेल,खिला कार्की, नकुल अर्याल र रमेश वाग्ले दौडमा छन्। युनियनको उपमहासचिवको दौडमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक पनि छन्।
कोषाध्यक्षमा माधव धिताल, पदमराज जोशी र मित्र भण्डारीले इच्छा देखाएका छन्। सचिवमा खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, राधा खनाल, टीकाराम सुनार र एलपी देवकोटा पनि दौडमा छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)