बुटवल,असार २३ ।
नेकपा माओवादी केन्द्रले १५ जना स्थायी कमिटीमा रहने सदस्यको मात्रै टुंगो लगाएको छ। काठमाडौंमा सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले पूर्व स्थायी कमिटीमा रहेका १५ जना नेताहरुको मात्रै अहिले स्थायी कमिटीमा टुंगो लगाएको हो।
स्थायी कमिटी सदस्यको संख्या भने ४१ सदस्यीय हुनेछ। केहीदिन भित्रमा अन्य स्थायी कमिटी सदस्यहरुको पनि टुंगो लाग्ने नेता गिरिराजमणी पोखरेलले जानकारी दिए।
त्यस्तै नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यको संख्या १५६ हुने भएको छ। ‘१५ जना स्थायी कमिटी सदस्यको टुंगो लागिसकेको छ। अन्य बाँकी पनि लाग्छन्,’ उनले भने, ‘अध्यक्षले केही दिनभित्रमा नै पदाधिकारीको पनि टुंगो लगाउनुहुन्छ।’
उनले पदाधिकारीको टुंगो लगाउने अधिकार अध्यक्षलाई केन्द्रीय कमिटीले दिएको भन्दै त्यसमा पूर्व स्थायी कमिटीका सदस्यहरुले पनि सहयोग गर्ने बताए।
‘केन्द्रीय कमिटीले पूर्णता पाउन नै ढिलाइ भएको थियो। अहिले यो सबै काम सकिएको छ,’ उनले भने, ‘अब स्वभाविक रुपमा नै पदाधिकारीको पनि निर्णय हुन्छ।’
उनले अध्यक्षले सहमतिमा नै पदाधिकारीको टुंगो लगाउने भन्दै त्यसमा कुनै समस्या नहुने जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)