बुटवल,असार १० ।
प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बौद्ध दर्शनको ज्ञानमय यात्रा आजको विश्वमा पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।
देउवाले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्री देउवाले शुक्रबार लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा २१ औँ शताब्दीमा पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउँदै यो गौरव हामीले हासिल गरेका छौँ भन्नुभयो । उहाँले बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको बताउनुभएको छ । “सम्भावना र चुनौतीको यो संयोगले हामीलाई अझै बढी वैज्ञानिक, व्यवस्थित र युगानुकूल हुन ऊर्जा दिइरहन्छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रुपमा आफूलाई स्थापित गर्न दीक्षित अग्रसर रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मुलुक निर्माणको साझा कर्तव्य पूरा गर्न वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध, कला, साहित्य पुरातत्व आदि समग्र क्षेत्रको विश्वव्यापी प्रवर्धन गर्न बौद्ध विश्वविद्यालयका विद्यार्थीमा अझै तीव्र उत्साह भरिएकोमा आफू विश्वस्त रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्ध जन्मस्थल लुम्बिनीमै हुनु भनेको विश्वविद्यालयको अपूर्व महत्व रहेको बताउँदै यस विश्वविद्यालयले बौद्ध अध्ययनका विभिन्न विधाको अध्ययन अध्यापन गराउनुका साथै दैनिक जीवन एवं चिन्तनशैलीको अभिन्न अङ्ग हुने गरी बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसारबाट समृद्ध मुलुक निर्माणको अभियानलाई सार्थकता दिन शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
यसका साथै उहाँले बौद्ध पर्यटनका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी बौद्ध रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले विश्वविद्यालयमा हाल सञ्चालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदिई थप समयसापेक्ष र जीवनपयोगी बनाउँदै लैजान आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “बौद्ध शास्त्रीयताका संस्कृतिको संयोजनद्वारा समकालीन विश्वका सैद्धान्तिक समस्याको उत्तर खोज्ने दिशामा अग्रसर हुन ढिलाइ गर्नुपर्ने कुनै कारण देखिँदैन ।”
प्रधानमन्त्री देउवाले नेपालले दिगो पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइसकेको परिप्रेक्ष्यमा यस विश्वविद्यालयले बौद्ध शिक्षाका माध्यमद्वारा सरकारले अङ्गीकार गरेका वातावरण तथा दिगो विकास नीतिलाई सहायकसिद्ध हुने गरी दिगो विकाससम्बन्धी अध्ययन, अध्यापन तथा अनुसन्धानमा लाग्न आग्रह गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)