बुटवल,असार ६ ।
नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आन्दोलन गरेको छ । सोमबार बिहानै बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्दै टायर बालेर सरकारविरूद्ध नाराबाजी गरेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै आन्दोलन सुरू गरिएको अनेरास्ववियु रूपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिनुभयो । मुल्य नघटाएसम्म अनेरास्ववियुले आन्दोलन जारी राख्ने बताउनुभयो ।
आइतबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको प्रतिलिटर १९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १९९ तथा डिजेल र मट्टितेल १९२ रूपैयाँ पुगेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)