भैरहवा, साउन १६।
कोरोना संक्रमण समुदायमा फैलिएपछि रोहिणी गाउँपालिकाकाे चैनपूरलाई पूर्ण निषेधित क्षेत्र घाेषणा गरिएकाे छ ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधई बजारदेखि उत्तर चैनपुर टोलमा कोरोना भाइरस फैलिएपछि गाउँपालिकाले उक्त टोललाई पूर्ण रुपमा निषेधित क्षेत्र कायम गरेको हाे ।
नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि २० गते राति १२ बजेसम्म कोही कसैलाई घरबाट निस्कन नपाउने गरी पूर्ण रुपमा निषेधित क्षेत्र कायम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।
निषेधित क्षेत्र कायम गरिएको अवधिभर कुनै व्यक्ति आफ्नो घरबाट बाहिर ननिस्कन र अरुको घरमा प्रवेश नगर्न तथा एकआपसमा नछोइएर सामाजिक दुरी कायम गरी अलगअलग सुरक्षित बस्न गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाद्वारा सोमबार जारी गरिएको सूचनामा भनिएको छ, गाउँपालिकाको सूचनाविपरीत कसैले कार्य गरेमा संक्रमण ऐन अनुसार सुरक्षाकर्मीबाट कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।त्यस्तै भदौ ६ गतेपछि चैनपुर टोलमा आउने जाने गरेको तथा सम्पर्क व्यक्तिहरु आ–आफ्नो घरमा सुरक्षित रुपमा बस्न र कुनै समस्या भएमा रोहिणी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखसंग फोनमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।
त्यस्तै भदौ २० गतेसम्म लकडाउन कायम रहेकोले लकडाउनको पालना गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)