काठमाडाै,जेठ २६ ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नं २ बाट आमनिर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् । उनले आफ्नो सम्पूर्ण लगानी र संगठन सोही क्षेत्रमा भएकाले पार्टीले मौका दिएसम्म तनहुँबाटै उम्मेदवारी दिने बताए ।
स्थानीय निर्वाचनमा पार्टीको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिको संयोजक रहेका पौडेलले बिहीबार पत्रकारहरूसँग छलफलको क्रममा आमनिर्वाचनमा पार्टीले स्वच्छ छवि भएका, ऊर्जाशीलता, लोकप्रियता र निरन्तरताजस्ता विशेषताहरुलाई मानक मानेर उम्मेदवार बनाउने नगरे पार्टीले थप क्षति बेहोर्नुपर्ने बताए ।
‘स्थानीय चुनावमा उम्मेदवार चयनमा भएको त्रुटिले पनि कतिपय ठाउँमा पराजय बेहोर्नुपरेको छ । कतिपय ठाउँमा त क्रियाशील सदस्यको संख्याभन्दा कम मत खसेको अवस्था पनि छ,’ देशभरिको मतपरिणामको विश्लेषण सुनाउँदै पौडेलले भने, ‘पार्टीले टिकट वितरणमा वैधानिक व्यवस्थालाई ध्यानमा राख्दै लोकप्रियता र न्यायको सिद्धान्त स्थापित हुने गरी अगाडि बढ्नुपर्ने हाम्रो सुझाव छ ।’
तपाईंचाहिँ कहाँ उम्मेदवार बन्ने ? भन्ने जिज्ञासा राखेका सञ्चारकर्मीलाई जवाफमा पौडेलले भने, ‘म तनहुँ–२ बाटै उम्मेदवारीका लागि तयारी गरिरहेको छु । मेरो लगानी र मेहिनेत परेको क्षेत्र पनि यही हो ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)