बुटवल,जेठ २५ ।
बुटवल उपमहानगर नगर कार्यपालिकाको पहिलो बैठकले बिभिन्न निर्णय गरेको छ । वडा नम्बर ११ को वडा कार्यालय परिषर देवीनगरको उत्तरतर्फ वीपी–पुष्पलाल पार्क बनाइने भएको छ ।
नगर कार्यपालिकाको आज बसेको पहिलो बैठकले नेपाली कांग्रेसका नेता स्व. वीपी कोईराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको स्मृर्तिमा पार्क बनाउने निर्णय गरेको हो ।
बैठकको निर्णय पत्रकार सम्मेलनमा गरि जानकारी दिइएको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पहिलो बैठकले बुटवल उपमहानगरको ११ नम्बर वडा कार्यालय रहेको खाली स्थानमा बिपी पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको जानकारी दिए । उनले उपमहानगर भित्र रहेका करिव १६ हजार भुमिहिन सुकुम्बासीहरुलाई बसोबासको निस्सा दिने निर्णय गरेको जानकारी दिए ।
पाण्डेले उपमहानगरको नवनिर्मित प्रशासनिक भवनको सरसफाई पुरानो प्रविधिबाट असम्भव देखिएको भन्दै भवन सरसफाईका लागि टेण्डर प्रक्रियाबाट कार्य अगाडि बढाउने निर्णय भएको पनि जनाए ।
उनले आफ्नो प्रतिवद्धता अनुरुप ज्योतिनगरको पहिरो नियन्त्रणको काम सुरु भइसकेको बताउँदै पाल्पाको बाटो हुँदै पहिरो पन्छाउने काम थालिएको र पानीको बहाव सिद्धबाबा तर्फ फर्काउने काम भइरहेको जानकारी दिए ।
११ वटा उपसमिति गठन:
बैठकले उपमहानगरका बिभिन्न विषयमा ११ वटा उपसमिति गठन गरेको नगर प्रमुख पाण्डेले जानकारी दिए ।बैठकबाट सार्वजानिक सेवा तथा क्षेमता विकास उपसमिति संयोजकमा पदम गाहा, सामाजिक विकास उपसमिति संयोजकमा प्रदिप श्रेष्ठ, आर्थिक विकास उपसमिति संयोजकमा डिल्लीशर्मा आचार्य, पूर्वाधार विकास समितिमा नारायणसिंह पुन, वातावरण तथा विपद व्यवस्थापन संयोजकमा रामचन्द्र क्षेत्री, बिधेयक समिति संयोजकमा नरेन्द्र बस्नेत, उपप्रमुख संयोजक रहेको राजश्व परामर्श समिति सदस्यहरुमा नरेश्वर पौडेल र बसन्ती बिक, जाँचपास तथा फरफारक समिति संयोजकमा हरि श्रेष्ठलाई चयन भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)