Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व कप क्रिकेट लिग २ का लागि नेपाली क्रिकेट टोली अमेरिका आउँदै

विश्व कप क्रिकेट लिग २ का लागि नेपाली क्रिकेट टोली अमेरिका आउँदै

  • 1.5K
    SHARES

  • विश्व कप क्रिकेट लिग २ का लागि नेपाली क्रिकेट टोली अमेरिका आउँदै

    सुरज भण्डारी /टेक्सस (अमेरिका) । 

    नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप क्रिकेट लिग २ मा सहभागिताका लागि आईतबार अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा आउने भएको छ । नेपालले यहाँ रहँदा अमेरिकासँग दुई र ओमानसँग दुई खेल खेल्नेछ ।

    नेपालको पहिलो खेल जुन ९ मा ओमान विरुद्व हुनेछ । त्यसैगरी जुन ११ मा अमेरिकासँग र जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग नेपालको खेल हुनेछ ।

    ओमान विरुद्व खेल हुनु भन्दा दश दिन अघि नेपाली राष्ट्रिय टोली अमेरिका आई प्रशिक्षणमा रहनेछ । पहिलो पटक अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीलाई आईसिसीले तोकेको समय  भन्दा पहिलानै यहाँ ल्याई  प्रशिक्षणको प्रबन्धका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली अल स्टारले पहलकदमी लिएको हो ।

    नेपालको तर्फवाट अन्तराष्ट्रिय खेलमा सहभागिता जनाईसकेका कनिश्क चौलागाई, बरदान चालिसे,आशिक लामा, संजय शर्मा,उत्सव सिग्देल लगायतका खेलाडीहरु मिलेर नेपाली अल स्टार क्लब चलाईरहेका छन् । क्लबले ह्युष्टन हुरीकेन क्लब र नेपलिन एशोसिएशन ईन ह्युष्टनसँगको सहकार्यमा नेपाली राष्ट्रिय टोलीका लागि आवश्यक व्यवस्थापनको कार्य गरेको क्लबका संजय शर्माले जानकारी दिनुभयो । 

    नेपालको छवि अन्तराष्ट्रिय जगतमा चिनाउनको लागि महत्व पूर्ण भूमिका खेल्ने खेलाडीहरुलाई यसरी यहा स्वागत गर्न पाउनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको क्लबका अर्का सदस्य आशिक लामाले बताउनुभयो ।

    नेपाली राष्ट्रिय टोलीले यहाँ रहँदा ओमान र अमेरिकासँग खेल हुनुअघि जुन २ मा नेपाली अल स्टार क्लब र जुन ४ मा ह्युष्टन हुरीकेन क्लबसँग खेल खेल्नेछ । यसका लागि अल स्टारले आफ्ना नियमित सदस्यहरुसहीत पाकिस्तान, न्यूजिल्याण्ड, भारत, बेलायत र दक्षिण अफ्रिकावाट क्रिकेट खेलिसकेका खेलाडीहरु समेटेर टोली तयार गर्न लागेको क्लबका सदस्य बरदान चालिसेले बताउनुभयो । 
    नेपाली राष्ट्रिय टोलीसहीतको नेपाली अल स्टार र ह्युष्टन हुरिकेन सम्मिलित प्रतियोगिता एनआरएनए एनसिसी युएसए कप २०२२  को नामबाट हुँदैछ । प्रतियोगिताका लागि आवश्यक पर्ने खर्च गैर आवासीय नेपाली  संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रबन्ध गर्ने गरी सहयोग संकलनको काम भैरहेको संघका उपाध्यक्ष सुमन थापाले बताउनुभयो । जतिसक्दो बढि संकलन गरी राष्ट्रका हिरोहरुलाई सहयोग गर्ने संघको चाहना रहेको उहाँले जानकारी दिनुभयो । 

    विश्व कप क्रिकेट लिग अन्तर्गतका खेलहरु भने २८ मे वाट सुरु हुनेछ । २८ मे वाट जुन ४ सम्म अमेरिका, स्कटल्याण्ड र संयुक्त अरब ईमिरेट्सका बिच सिरिज  का खेलहरु हुनेछ भने नेपाल, ओमान र अमेरिका बिचको सिरिज   अमेरिका र ओमान विचको जुन ८ मा हुने खेलवाट सुरु हुनेछ । 

    आईसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु  विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहीत शिर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहीत दोस्रो स्थानमा रहेको छ ।

    यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२  अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ । 
    नेपालको टोलीमा सन्दीप लामिछाने कप्तान, आसिफ शेख विकेटकिपर, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी विकेटकिपर, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

    tie sheet.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology