बुटवल,जेठ १५ ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अरु भन्दा फरक छन् ।उनी नगरको नेतृत्वमा आएपछि शनिबार पनि कार्यालयमा भेटिएका छन् भने आज परेको १५ औं गणतन्त्र दिवसमा सफाईकर्मी मजदुरसंग सहभोज गरेर उनीहरुलाई अभिभावकत्वसंगै सम्मान र माया दिए ।
श्रमिक वर्गलाई पनि गणतन्त्र दिवसको महसुस होस् भनेर आफूले यस्तो कार्यक्रम आयोजना गरेको नगर प्रमुख पाण्डेयले बताए । ‘गणतन्त्र दिवसमा सफाईकर्मी मजदुरसंग सहभोज गरौं भन्ने लाग्यो र उपमेयरसंग प्रस्ताव राखें, उहांले एकदमै राम्रो भन्नुभयो’–मेयर पाण्डेयले भने ।
देशमा गणतन्त्र आएको श्रमजिवी वर्गले पनि अनुभूति गर्न पाउनुपर्छ, उहांहरु हेपिएको महसुस नहोस् भनेर आफूले सहभोज कार्यक्रम राखेको नगर प्रमुख पाण्डेयले बताए ।
नगरलाई सफा र स्वच्छ राख्न सफाईकर्मी मजदुरको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई खुशी बनाउन सके मात्रै नगर सफा र स्वच्छ हुने नगर प्रमुख पाण्डेयले बताए । उनले आगामी नीति तथा कार्यक्रम र वजेटमा सफाइकर्मी मजदुरको तलब भत्ता बृद्धिलाई प्राथमिकतामा राखिने बताए ।
सफाईकर्मी मजदुर जितबहादुर दर्जीले यसअघिका मेयर शिवराज सुवेदीले आफूहरुलाई बेवास्ता गरेको र नमस्कार पनि नफर्काएको गुनासो गरे ।
नयां मेयर आएपछि पहिलोपटक आफूहरुलाई सम्मान दिएको भन्दै खुशी व्यक्त गरे । ‘अहिले विरोध गरेजस्तो होला, तर यसअघिका मेयर शिवराज सुवेदीले हामीलाई पटक्कै वास्ता गर्नुभएन, नमस्कार गर्दा पनि फर्काउनुभएन’–दर्जीले भने–‘अहिलेका मेयर आएपछि हामी एकदमै खुशी छौं, अब हाम्रा समस्या गुनासा सुन्नुहुन्छ भन्ने विश्वास छ ।
कार्यक्रममा उपमहानगरकी उपप्रमुख सावित्रा अर्याल, वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेल लगायतले मन्तव्य राखेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)