काठमाडौं,जेठ १४ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’
राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताए ।
‘पुनर्समीक्षमा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने,’ प्रचण्डले भने, ‘मेरो दृष्टिमा आफ्नो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काठमाडौंमा बालेन्द्र साह र धरानमा हर्क साङपाङको विजयी हुनु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने बताएका छन् ।
शनिबार संसदमा बोल्दै प्रचण्डले उनीहरुको पछाडि कुनै पनि पार्टी र उनीहरुको नेताको साथ नरहेको भन्दै साँचो अर्थमा स्वतन्त्र भएको उल्लेख गरे । बाँकी उम्मेदवार भने पार्टीकै बलमा जितेको उनले बताए ।
काठमाडौं र धरानमा जनताले उम्मेदवारको विचार, प्रवृत्ति र संकल्प मन पराएकै कारण स्वतन्त्र उम्मेदवारले जितेको उनको भनाइ छ ।उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रभित्र काठमाडौं र धरानमा फेरि दुईटा नयाँ फूलहरु फक्रिएका हुन्, फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै हो ।’
उनले पार्टीहरुले नीतिहरु र उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको समेत उल्लेख गरे । स्वतन्त्र उम्मेदवारलाई घेराबन्दी हुन सक्ने भन्दै उनले सचेत रहन समेत सुझाव दिए । स्वतन्त्र उठेर जितेकाहरु दलकाका लागि चुनौती नभएर दलहरुका लागि समीक्षाका लागि पाठ भएको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)