बुटवल,जेठ ७ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेय बिजयी भएका छन् गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पाण्डेयले २५ बर्षपछि कांग्रेसको विरासत फर्काउन सफल भएका हुन् ।
एमालेको ३० बर्षे ‘गढ’ भत्काउंदै कांग्रेसको बिरासत फिर्ता भएपछि कांग्रेस नेता कार्यकर्ता निकै खुसी भएका छन् । बुटवललाइ यसअघि एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएको थियो ।
३० बैसाखमा भएको स्थानीय तह निर्वाचनको सार्बजनिक भएको पछिल्लाे मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार पाण्डेयले ७ हजारको मतान्तर कायम गरेका छन् ।
अहिले बुटवल ११ मा मतगणना जारी छ त्यहाँ करिब ४ हजार मत गणना बाँकी रहेपनि पाण्डेय ७ हजार मतले अगाडी रहेकोले जित पक्का भैसकेको बुटवल उपमहानगरका निर्वाचन अधिकृत लेखनाथ पाेखरेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।

उपमेयरमा भने एमाले उम्मेदवार साबित्रादेवी अर्याल बिजयी नजिक छिन् । त्यस्तै ०७४ को निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा विजयी भएको एमाले यस पटकको निर्वाचनमा दोेस्रो स्थानमा खुम्चिएको हाे ।
नगरको निर्वाचनमा मेयर र उपमेयर पदमा कांग्रेस र नेकपा एकिकृत समाजबादीबीच गठबन्धन भएको थियो ।
१९ वटा वडा रहेको बुटवलमा ४ वटा वडाहरु (वडा न १०,१४,१८ र १९) मा एमालेले जितेको हो भने वडा न १ मा स्वतन्त्र उम्मेदवार,२ मा एकिकृत समाजबादी,३ मा माओबादी केन्द्र रुख चिन्हबाट जितेका हुन् भने बांकी सबै वडाहरु बहुमत वडा सहित (वडा न ४,५,६,७,८,९,१२,१३,१५,१६,१७) कांग्रेसले जितेको हो ।
बुटवलमा कुल मतदाता संख्या ९० हजार ४०४ रहेपनि जम्मा ६२ हजार १०१ मत खसेको थियो । बुटवलमा २०४९ मा कांग्रेस नेता सूर्यप्रसाद प्रधान बुटवलको मेयर बने,२०५४ मा एमालेका भोजप्रसाद श्रेष्ठ र २०७४ मा एमालेकै शिव सुबेदी मेयर निर्वाचित भएका थिए ।
को हुन् बुटवलमा मेयर निर्वाचित खेलराज पाण्डेय ?

स्याङ्जामा हुँदै आदर्श माविमा नेपाल विद्यार्थी संघ नेविसंघको सदस्यताबाट सुरु भएको थियो । २०४४ देखि २०४६ सम्म काठमाडौंको अमृत साइन्स क्याम्पस अस्कलमा विद्यार्थी रहेका पाण्डेय त्यहाँ नेविसंघ इकाई सचिव बने । त्यसपछि बुटवल झरेका उनी २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति भए । त्यसयता बुटवललाई कार्यथलो बनाएका पाण्डेय कांग्रेस नगर सभापतिको तेस्रो कार्यकालमा छन् ।
२०५२ सालमा नेविसंघ रूपन्देही सचिव र २०५९ मा तरुण दलको रूपन्देही अध्यक्ष बनेका उनी २०६० मा तरुण दलको केन्द्रीय सदस्य र २०६७ मा कांग्रेसको बुटवल नगर सभापति बनेका थिए । २०७२ मा नगर विकास समिति बुटवलको अध्यक्ष समेत भएका उनले बुटवलका पुराना कांग्रेस नेता स्वर्गीय सूर्यप्रसाद प्रधानलाई मेयर र सांसद बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरको मेयरका उम्मेदवार बनेका पाण्डेय नेकपा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भए । त्यो बेला एमालेका तत्कालीन जिल्ला अध्यक्ष सुवेदीले २३ हजार २४९ र पाण्डेयले २० हजार ८५१ मत पाएका थिए ।
सरल, इमान्दारको छवि बनाएका उनी बुटवलमा घर र गाडी नभएका नेता हुन् । कार्यकर्ताको सवारी साधनमा लिफ्ट मागेर पार्टी कार्यक्रम भ्याउने गरेका पाण्डेय स्याङ्जाबाट बुुवाले पठाइदिने अन्न र साथीभाइको सहयोगबाट आफ्नो, श्रीमती र एक छोराको गुजारा चलाएको उनको अनुभव छ ।
साधारण जीवनशैली र मिजासिलो व्यवहारका लागि विपक्षी दलका नेता–कार्यकर्ताबाट समेत प्रशंशीत उनी बुटवलको मेयरमा फराकिलाे मतसहित अनुमोदित भएका छन् ।
‘पैसाको फुर्तीफार्तीको जमाना छ, तर खेलराज सम्पत्ति कमाउन राजनीतिमा नलागेको कुरा बुटवलवासीलाई थाहा छ’ पाण्डेय भन्छन्,‘त्यसैले, प्रतिस्पर्धी दलका मतदाताले पनि मलाई बिना पैसापनि जिताउनुभयाे,सबैलाइ धन्यबाद छ ।’
यी समाचार पनि हेराैँ :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)