बुटवल,बैसाख २६ ।
बुद्धिजीवीहरुले संविधान, संघीयता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर पांच दलिय गठबन्धनका उम्मेद्वारहरुलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका छन् । बुद्धिजीवी समन्वय समितिले आईतबार बुटवलमा आयोजना गरेको बुद्धजीवी भेलामा संविधान र व्यवस्था रक्षाको लागि बुद्धिजीवीहरु पांच दलिय गठबन्धनका उम्मेद्वारलाई जिताउनु पर्ने बताएका हुन् ।
दुई पटकसम्म संसद विघटन गरेको नेकपा एमालेलाई जिताएमा संविधान, संघीयता र व्यवस्था समेत संकटमा पर्ने भएकाले जसरी पनि पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई जिताउनु पर्ने उनीहरुको भनाई छ । पांच दलिय गठबन्धनको तर्फबाट बटवल उपमहानगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डेय र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेद्वार हुनुहुन्छ ।
कार्यक्रममा मेयर पदका उम्मेद्वार पाण्डेले चुनावलाई स्वच्छ र स्वतन्त्र बनाउन भुमिका खेलिदिन आग्रह गर्नुभयो । उहाँले सुकुम्वासी र भूमिहिनको समस्या समाधान गर्न के गर्न सकिन्छ सुझाव सल्लाह दिन पनि आग्रह गर्नुभयो । गएको पाँच वर्षमा मेयर जितेको एमालेबाट जनताको अपेक्षा अनुसारका कुनैपनि काम हुन नसकेको बताउँदै समग्र बुटवलको विकासको लागि गठबन्धनको जीत अनिवार्य रहेको भनाई राख्नुभयो ।
त्यस्तै उपमेयर पदका उम्मेद्वार गुरुङले बुटवलको आवश्यकता र बुटवललाई कस्तो बनाउने भन्ने विषयमा पनि बुद्धिजीवीहरुको सुझाव सल्लाह महत्वपूर्ण हुने बताउनु भयो । उहाँले चुनाव जितेमा गरिएको संकल्प र प्रतिवद्धता अक्षरश पालना गरिने बताउनु भयो ।
काँग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश राना, निर्वाचन परिचालन समितिका संयोजक तथा काँग्रेस प्रदेश सदस्य रामबहादुर कार्की लगायतका नेताहरुले गठबन्धनको जीतको लागि माहौल बनाईदिन बुद्धिजीबिहरुलाई आग्रह गर्नुभएको थियो ।
त्यस अवसरमा प्राध्यापक डा. बुद्धबहादुर थापाले यस अगाडिको एमाले सरकारले बुद्धिजीवीहरुलाई उपेक्षा गरिएको बताउनु भयो । नगरपालिकाबाट ठूलो अपेक्षा गरिएको अहिले गठबन्धनको पक्षमा बनेको माहौलको उपयोग गर्न बुद्धिजीवीहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै कानुनविद् गोकर्णसिंह थापाले एमाले संविधान समाप्त पार्न उद्धत भएकाले र अदालतले त्यसलाई नसच्याएको भए अहिले यो व्यवस्था सकिसक्ने टिप्पणी गर्नुभयो । त्यतिवेला काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संविधान र व्यवस्था रक्षाको लागि नेतृत्व गरेका कारण व्यवस्था र संविधान रहेको भन्दै संविधानको सफल कार्यान्वयनको लागि गठबन्धनको जीत अनिवार्य रहेको भन्दै आस्था र विचार भन्दा पनि संविधान र व्यवस्थाको रक्षा तथा विकास र समृद्धिको लागि पनि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले संविधान मास्न उद्धत प्रतिगामी एमालेले राजसंस्थाका नारा बोकेको अर्काे प्रतिगामी राप्रपासंग चुनावी समिकरण गरेर आफ्नो खास राजनीतिक गन्तव्य तय गरेको टिप्पणी गर्नुभयो ।
प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष मदन कट्टेलले बुटवलको मेयर शिवराज सुवेदीको सम्पत्तिको स्रोत खोजी गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष शोमनाथ गिरी, दामोदर घिमिरे, आशिष न्यौपाने लगायतले भनाई राख्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)